घरेलु हिंसाले महिला पीडित

कान्तिपुर संवाददाता

धनगढी — प्रदेश ७ मा घरेलु हिंसाका घटना बढेका छन् । घरेलु हिंसाबाट पुसयता १ सय ९६ जना महिला पीडित भएका हुन् । ६ जना बलात्कृत भएका छन् । ३ जनामाथि बलात्कार प्रयास भएको छ ।

इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले कैलालीको देउकलियाकी १८ वर्षीया राधा चौधरीमाथि यसै अवधिमा अमानवीय व्यवहार भएको बताए । चौधरी माथि बोक्सीको आरोपमा निर्मम कुटपिट भएको थियो ।

प्रदेशका ९ वटै जिल्लामा संकलित तथ्यांकअनुसार मानवअधिकार उल्लंघनका घटनामा २ सय ४५ जना पीडित भएका छन् । पीडित हुनेमध्ये महिलाको संख्या बढी छ ।

मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा महिला अधिकारकर्मी चित्रा पनेरुले महिलामाथि हिंसाका घटना बढ्दै गएको र यसबारेमा सबै निकाय सजग हुनुपर्ने औंल्याइन् ।

मानवअधिकार उल्लंघनका घटनाअन्तर्गत राज्य पक्षबाट ५ जना पीडित भएको उल्लेख छ । पीडितलाई प्रहरीले गैरकानुनी थुनामा राखेर उनीहरूको अधिकार उल्लंघन गरेको अधिकारकर्मी संस्था इन्सेकले जनाएको छ । कैलालीमा सबैभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएका छन् । कैलालीमा ८७ घटनामा ९७ जना पीडित भएको इन्सेकका प्रलेख अधिकृत कृष्ण विकले बताए । गैरराज्य पक्षबाट घाइते, बालअधिकार उल्लंघन, अमानवीय व्यवहार र हत्याका घटना भएका छन् ।

यस्तै जातीय विभेदका घटना र महिला अधिकार उल्लंघनका घटनासमेत भएका हुन् । इन्सेकले सुरक्षा निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि र कानुन व्यवसायीको सहभागितामा घटनाको तथ्यांक सार्वजनिक गरेको हो । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले पछिल्ला समयमा मानवअधिकारप्रति प्रहरी उच्च सतर्क रहेको बताए ।

‘कार्यसम्पादनका क्रममा हाम्रो निकायबाट भएका कमजोरीलाई यस्तै समीक्षामार्फत सच्याउन सहयोग पुग्छ,’ उनले भने ।

प्रकाशित : असार १६, २०७५ ०९:४६