बलात्कारीलाई मृत्युदण्ड !

 

 

घटना १

नुवाकोटकी ६ महिनाकी बालिका । सधैंजसो घरको आँगनमा राखिएको बालिकाको कोक्रो हल्लाइदिने छिमेकी दाइले आमा तरकारी किन्न गएको बेला आफ्नो लिंग बालिकाको योनिमा रगडे । योनिमा लिंग नघुसेपछि मुखमा कोचे । आमा फर्किदा छोरी रक्ताम्मे भेटिइन् ।

उनलाई काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार समेत गरियो । उजुरी दर्ता गर्दा आमा बुबालाई समाजमा बस्न समस्या हुने भयो । बुबा आमाले समाजमै बस्न नसक्ने डरले मुद्दा दर्ता गर्न मानेनन् । बलात्कारीलाई उन्मुक्ति मिल्यो ।

घटना २

बाहुन समुदायकी १४ वर्षीया किशोरीले १५ वर्षको नेवार केटासँग भागी बिहे गरिन् । केटा र केटी पक्षले उनीहरूको बिहे स्वीकार गरेन । १५ वर्षमै उनले छोरी जन्माइन् । घर र ससुराली पक्षले स्वीकार नगरेको कुराले केटामा हिनताबोध हुन थाल्यो । उसको पढाइ पनि छुट्यो । जागिर पाइएन । केटा डिप्रेसनमा गयो । १९ वर्षको उमेरमै केटाले झुण्डिएर आत्महत्या गर्यो ।

लोग्नेको मृत्युपछि माइतीबाट बहिष्कृत उनको लोग्नेको मृत्यु भएपछि माइतीको मन पग्लियो । उनी माइतीमा बस्न थालिन् ।
बिहे गरेको पाँच वर्षमा २०७२ सालमा आश्रय लिन माइती पुगेकी सुनिताकी चार वर्षीया छोरीलाई उनकै १७ वर्ष भाइले देखि सहेनन् । देख्यो की पिटिहाल्थे । जतिसुकै बेला यो ‘नेवारको ख्या’ (नेवारी भाषामा ख्या भन्नाले राक्षस हो) लाई मारदिन्छु भन्दै पिट्थे । दिदी मेरो साथी एकदम ह्यान्डसम छ । यसलाई मारिदिम् । अनि तिमीलाई ढुक्कले बिहे गर्ने बाटो खुल्छ भन्थे । भाञ्जीलाई यातना दिन्थे ।

६५ वर्षका सुनिताका बुबाले नातिनीलाई स्कुलमा नाम लेखाइदिए । स्कुलबाट फर्किने क्रममा एकदिन सुनिताका भाइले भान्जीलाई बलात्कार गरे । बलात्कारको पीडाले बेहोस् भएपछि थप कुटेर बाँसको झाडीमा फ्याँके । घर पुगेर आफ्नो बुबालाई भन्यो, ‘बा मैले ठीक गरे नी ! त्यो ‘नेवारको ख्या’ लाई आज बाँसको झाडीमा फ्याकेर आएँ । ठीक भो नी बा । अब दिदीको अर्को बिहे गर्नुपर्छ ।’

छोराको कुराले वृद्धावस्थाका बुबाको मन विक्षिप्त भयो । लौरो टेकेर नातिनी खोज्न गए । कतै भेटेनन् । त्यसपछि उनी मेरो छोराले नातिनीलाई बाँसको झाडीमा मारेर फालिदिएँ भन्छ । मैले कतै भेटिन, खोज्नुपर्यो भनेपछि प्रहरीले राती ११ बजे बाँसको झाडीमा बालिका भेट्यो । काटेका बाँसका धारिला ठुटामाथि टाढैबाट फ्याकिएकी बेहोस बालिका घोप्टो अवस्थामा थिइन् ।

अनुहार, कन्चट, कानको भाग पुरै रक्ताम्मे थियो । योनि क्षत विक्षत । प्रहरीले बालिकालाई उपचारका लागि तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गर्यो ।

एक संस्थाका महिलाहरूले बालिकालाई पाँच महिनासम्म रगत दिइयो । कलिलो शारीरिक अवस्थाका कारण उनको शरीरमा जति रगत दिए पनि नथाम्मिने । घटनाको पाँच महिनापछि विस्तारै उनको शरीरले रगत स्वीकार गर्यो । उनी विस्तारै निको हुँदै गइन् ।

भान्जीलाई यातनासँगै बलात्कारपछि हत्या प्रयास गर्ने मामा अहिले जेलमा छन् । छोराको कर्तुत बारे प्रहरीलाई जानकारी दिने बुबालाई समाजले भएको एउटै छोरा पनि जेल पठाइस्, छोरी गतिली भएको भए १४ वर्षमै नेवारसँग भाग्थी र ? आखिर के पाइस् तैंले भन्दै बेलाबेलामा गर्ने प्रहारले मानसिक रुपमा विक्षिप्त छन् । बालिकाकी आमाको मानसिक सन्तुलन पूर्णरुपमा ठीक छैन । बालिका पुनस्र्थापना गृहमा छिन् ।

घटना ३

२०७१ फागुन ८ गते । बारा सदरमुकाम कलैयामा बुबा आमा तरकारी बेच्न गएको बेला ६ वर्षीया बालिका पुजा साह अपहरणमा परिन्, कलैया–४ का २८ वर्षीय कन्हैया गुप्ताबाट ।

मानवताका सबै अंश बिर्सेर बलात्कारपछि पुजाको योनिमा लठ्ठी घुसाइयो । कलैयाको मदर्शा टोलमा फागुन ९ गते बलात्कार पछि अचेत अवस्थामा फेला परेकी उनको काठमाडौंको कान्ति बाल अस्पतालमा २०७१ फागुन २५ गते उपचारका क्रममा मृत्यु भयो ।

पुजा साहको हत्यापछि बारामा संयुक्त आन्दोलन चल्यो । विद्यार्थी, समाजसेवी, अधिकारकर्मी, सर्वसाधारणले बलात्कारी हत्यारालाई कडा भन्दा कडा कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएपछि फागुन १० गते नै पक्राउ परेका कन्हैया गुप्तालाई जिल्ला अदालत बाराले दुई लाख क्षतिपूर्ति सहित सर्वश्वसहित जन्म कैद (३५ वर्ष) सजाय सुनाएपछि आन्दोलन फिर्ता भयो ।

घटना ४

बलात्कार पछि हत्या गरिएकी काठमाडौंको डल्लुकी १० वर्षीया बालिकाको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमै छ ।
डल्लुस्थित चाँगलमा डेरा गरी बस्ने दलित बालिकाको २०७४ जेठ ५ गते शुक्रबार बलात्कारपछि हत्या भयो । पीडकलाई कारबाही नगरेसम्म परिवारले शव नबुझ्ने भनेपछि बालिको शव टिचिङमै राखिएको हो ।

बालिकाको स्कुलमा शुक्रबार अतिरिक्त क्रियाकलाप थियो । गरिब आर्थिक अवस्थाकी बालिकासँग ड्रेस नभएकाले त्यो दिन उनी स्कुल गइनन्, घरमै थिइन् । आमा काम गर्न कारखाना गएकी थिइन् । आठ वर्षीय कान्छो भाई स्कूल गएका थिए ।
साँझ पाँच बजेतिर दिदी सुतेकी छिन् । जति बोलाए पनि बोल्दैन भन्दै भाई, आमाकहाँ पुगे । आमा हतार–हतार घर फर्किन् । छोरीलाई मृत अवस्थामा फेला पारिन् ।

बालिका घाँटीमा सल बेरिएको थियो । आमाले हतार–हतार छोरीलाई वीर अस्पताल पुर्याइन् । उनको योनिमा निलडाम थियो । शरीरमा पनि घाउ थियो । डाक्टरले अमृतालाई मृत घोषित गरे ।

बालिकाकी आमालाई आफ्नो कोठासँगै डेरामा बस्ने छिमेकी दिनेश चौधरी भन्ने मोरङका विश्वराम रनप्रति शंका लाग्यो । उनले प्रहरीलाई त्यही बयान दिइन् । विश्वरामले छोरी अमृता माथी पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको कुरा समेत खोलिन् ।
महानगरीय प्रहरी वृत स्वयम्भुले विश्वरामलाई जेठ ५ गते राती नै हिरासतमा लियो । किटानी जाहेरी भने निकै संघर्षपछि जेठ ३० गते मात्रै लियो । विश्वराम पुर्पुक्षका लागि अहिले पनि थुनामा छन् ।

घटना ५

ललितपुरको गोदामचौरमा २०७४ मंसिर २ गते बेलुकी कामबाट घर फर्किदै गर्दा सामूहिक बलात्कारमा परेकी २१ वर्षीया युवती भोलिपल्ट बाटो मुनिको तोरीबारीमा बेहोस अवस्थामा भेटिइन् । एक साता आईसीयूमा उपचार पछि मात्रै उनको होस खुल्योे  । दाहिने हात ठाउँठाउँमा टुक्रिएको र टाउकोमा गहिरो चोट लागेका कारण ३० भन्दा धेरै टाँका लगाइयो ।

घटनाको हप्ता दिन पछि युवती बोल्न सक्ने भएपछि मात्रै ‘जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योग’ मा पीडितको किटानी जाहेरी दर्ता भएपछि आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर पक्राउ परे ।

जिल्ला अदालत पाटनले गएको पुस २६ गते जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा पक्राउ परेका तीनै जनालाई साधारण तारिखमा छाड्ने आदेश दिएसँगै तीनै जना रिहा भए ।

जिल्ला अदालतको आदेश बदर गरि पाउँ भनि उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पाटनमा निवेदन दर्ता भएपछि माघ २५ गते उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणको आधारमा आरोपीलाई थुनामा राख्ने’ आदेश दिएको थियो । तर साधारण तारिखमा रहेका तीनै जना आरोपी आजका मितिसम्म पनि फरार छन् ।

बलात्कारीहरू पनि चिनेजानेकै मान्छे । प्रहरीले पक्राउ समेत गरेन । बलात्कारीबाटै असुरक्षा महसुस भएपछि पीडित नै विस्थापित भए । उपचारमा धेरै संघ संस्थाले सहयोग गर्छौ भन्ने आश्वासन त दिए । तर सहयोग भएन । अहिले पीडित नै विस्थापित भएका छन् । न्याय पाउँछौ भन्ने आस समेत मरिसकेको युवतीका श्रीमानले टेलिफोनमार्फत गुनासो गरे ।

घटना ६

मुस्ताङमा गएको माघ महिनामा ७० वर्षीया वृद्धा बलात्कृत भइन् । मुस्ताङको घोरपझोङ गाउँपालिका–१ चिमाङका ३१ वर्षीय सुनबहादुर बिकले मदिरा सेवन गरी हजुरआमा उमेरकी वृद्धालाई बलात्कार गरे ।

बलात्कृत वृद्धा महिलाले आफूलाई बलात्कार गरेको कुरा छिमेकीलाई बताएपछि स्थानीयले विकलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

घटना ७

काठमाडौंको बालाजुस्थित एक बुबाले पाँच वर्षसम्म आफ्नै छोरीलाई बलात्कार गरे । छोरी १४ वर्षको छँदादेखि बलात्कार गर्दै आएका बुबाले बलात्कार पछि छोरीलाई गर्भ नरहोस् भनेर पील्स खान दिन्थे ।

छोरी अहिले १८ वर्ष पुगिन् । आमा रोजगारीको सिलसिलामा कुवेत गएपछि ज्यामी काम गर्ने बुबाले रक्सी खाएर हरेक दिन बलात्कार गर्दा उनले पटक–पटक आत्महत्याको प्रयास समेत गरिन् । अहिले घटना बाहिर आयो । घटना अदालतसम्म पुगेको छ ।

घटना ८

पर्सा जिल्लाकी ८ वर्षीया बालिकाको अबोधपनको फाइदा उठाए बलात्कारीले । बेलुकी घाम डुबिसकेको थियो । घरमै खेलिरहेकी बालिकालाई पोखरिया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साहले माछा दिन्छु भनेर पोखरीतिर बोलाए । बालिका गइन् । बुबा बजार (हाट) गएका थिए । फर्केर घर आउँदा छोरी घरमा देखेनन् । घर वरपर खोजे भेटेनन् । कसैले बजार गएकी छ भने । फर्केर बजार गए । कतै फेला पारेनन् । घर फर्किए । फेरि खोज्दा भेटिईन्, खुनको आहालमा डुबेर घर पछाडि डरले लुकीरहेकी छोरी ।

उसको क्षतविक्षत शरीर देखेर बलात्कार भएको अनुमान लगाए । सामूहिक बलात्कार भएको पनि अवस्थाले नै बताउँथ्यो । शरीरमा जताततै दाँतले टोकेका, चुरोटले डामेका, कोतारेका घाउहरू थिए ।

घटना थियो २०७४ फागुन १६ को । बालिकाका अनुसार सुनिल साह, मनोज सहनी र शनि भनिएका व्यक्तिले बलात्कार उनीमाथि बलात्कार गरे । घटनाको भोलिपल्ट बाबुले तिनै जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले उक्त जाहेरी दर्ता गरेन । १७ फागुनमा पक्राउ परेका मनोजलाई छाडिदियो । अहिले प्रहरी हिरासतमा पोखरिया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह मात्रै छन् । अरू फरार छन् ।

बालिकालाई अधिकारकर्मी सावित्री सुवेदीले उद्धार गरेर काठमाडौं ल्याइन् । राजधानीको एक अस्पतालमा उनको पत्रपत्र च्यातिएको योनिको शल्यक्रिया भयो । डाक्टरका अनुसार पाठेघरसम्म पुग्ने पाँच पत्र बलात्कारका कारण च्यातिएको थियो । उपचारपछि उनी अहिले पुनस्र्थापना गृहमा आश्रय लिइरहेकी छन् ।

पुनर्स्थापना गृह संचालन गर्ने संस्थाकी अध्यक्षका अनुसार उनी अरू बालिका जस्तै नाच्न, उर्फिन, कुद्न खोज्छिन् । तर उनको योनिबाट रगत बग्छ । उनी फेरी पेट समात्दै थचक्क बस्छिन् र रुन थाल्छिन् ।

पीडितको चाहानाः बलात्कारीलाई फाँसी

आफ्नै मामाबाट बलात्कार पछि हत्या प्रयास गरिएकी साढे पाँच वर्षीया बालिका पुनस्र्थापना गृहको आश्रय लिइरहँदा कैची वा धारिलो हतियार देख्नेवित्तिकै प्रश्न गर्छिन्, ‘यसले हान्यो भने मान्छे मर्छ की मर्दैन ?’

आठ वर्षीया छोरीलाई सामूहिक बलात्कार पछि रक्ताम्मे अवस्थामा फेला पार्दा काखमा च्यापेर रोएका पर्साकी ८ वर्षीया बालिकाका बुबाको एउटै धोको छ– छोरीका बलात्कारीलाई फाँसी भएको हेर्ने ।

बलात्कार पीडित महिला हुन् या तीनका आफन्त । घटना पछि जीवनभर पीडकको त्रासमा जीउँछन् । बलात्कारी जेलमा रहँदा मन शान्त भए पनि उ छुटेर बाहिर निस्केपछि फेरी उबाट कतिबेला कस्तो विपत् आइपर्छ भन्ने डरले त्रसित भइरहन्छन् ।

बलात्कृत महिलाहरूको न्यायका लागि काम गर्दै आएको रक्षा नेपालको पुनस्र्थापना गृहमा मात्रै यतिबेला ६० जना महिला तथा बालिकाहरू आश्रय लिइरहेका छन् । आफ्नै बुबा, आफ्नै मामा, हजुरबुबा, छिमेकी, नातागोतादेखि सामूहिक बलात्कारमा परेका महिलाहरूलाई तपाईंहरू बलात्कारीलाई के भयो भने न्याय पाएको महसुस गर्नुहुन्छ भन्ने प्रश्नमा सबैको एउटै उत्तर छः ‘फाँसी’ ।

फाँसीको विकल्पै छैन: मेनुका थापा, अध्यक्ष, रक्षा नेपाल

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा ६ महिनाकी बालिकादेखि ७०–८० वर्षका वृद्धा बलात्कार गर्नेलाई बाँच्ने अधिकार नभएको आक्रोश पोख्छिन् ।

थापाको प्रश्न छ, ‘नेपालको कानुनले गुण्डालाई इन्काउन्टर गर्न छुट दिन्छ भने बलात्कारीलाई इन्काउन्टर गर्न किन मिल्दैन ?’ बलात्कारीलाई बाँच्न पाउने अधिकार छ भनेर वकालत गर्ने मान्छे पनि बलात्कारीजत्तिकै दोषी रहेको तर्क उनको छ ।

बलात्कारीलाई बाँच्ने अधिकार दिनु भनेको बलात्कृत महिलालाई पलपलमा मर्नुपर्छ भन्ने तर्क हो भन्छिन् थापा । यस्तो किन त ? उनको स्पष्टोक्ति छः बलात्कारी जिउँदै छ भन्ने थाहा हुँदा बलात्कृत महिलाले कहिल्यै स्वतन्त्रता महसुस गर्न सक्दैनन् । कतिबेला घटना दोहोरिन्छ भन्ने भयमा हुन्छन् उनीहरू । जसको फलस्वरुप हरेक पुरुषप्रति उनीहरूको घृणा भाव पैदा हुन्छ । यदि बलात्कारी नै रहेन भने उनीहरूले अरू पुरुषलाई दाजुभाई, काका, मामा, साथीको दृष्टिले हेर्न सक्छन् ।

१५ वर्षदेखि बलात्कृत महिलाको पक्षमा वकालत गर्दै आएकी उनले पीडितको भनाइमा समर्थन जनाउँदै भनिन्, ‘उनीहरू आफूलाई बलात्कार गर्नेको हत्या गरेर जेल बस्न तयार छन् । तर बलात्कारीलाई छोड्न तयार छैनन् ।’ यसकारण पनि देशले संविधान संशोधन गरेर फाँसीको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

मेनुकाको आरोप छ, ‘मृत्युदण्डको व्यवस्था हुनुहुँदैन भन्ने मानवअधिकारकर्मी विदेशीका दलाल हुन् । उनीहरू व्यवस्थाप्रति चिन्तित होइन, यो व्यवस्था लागु गर्नुपर्छ भन्दा आफ्नो रोजीरोटी खोसिने हो की ! भन्ने डरले विरोध गरिरहेका छन् ।’

विशेष प्रस्ताव दर्ता

अन्तरपार्टी महिला सञ्जाल तथा विभिन्न राजनीतिक दल आवद्ध महिला संगठनहरूको संयुक्त संघर्ष समितिले संसदमा विशेष प्रस्ताव दर्ता गराएका छन् ।
सांसद शशी श्रेष्ठले महिला हिंसाविरुद्ध मृत्युदण्डसम्मको सजायको व्यवस्था गर्न माग गर्दै विशेष प्रस्ताव दर्ता गराएको बताइन् ।

अन्तरपार्टी महिला सञ्जालकी महासचिव यशोधा सुवेदीले मृत्युदण्डको कुरा उठाउँदा नेपाल रोम विधानको पक्ष राष्ट्र भएका कारण त्यो व्यवस्था हुन नसक्ने तर्क उठ्ने गरेको भन्दै आवश्यक परे रोम विधानबाट पछि हटेर समेत बलात्कार जस्ता गम्भीर अपराधका मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताइन् ।

साबित्री सुवेदी, अधिकारकर्मी

दिनहुँ सामाजिक सञ्जाल फेसबुकमा बलात्कारीलाई मृत्युदण्ड हुनुपर्छ भन्ने आवाज उठाउँदै आएकी अधिकारकर्मी साबित्री सुवेदी बलात्कार जस्तो जघन्य अपराधको कानुन बलात्कृत महिलाले नै बनाउनुपर्छ भन्छिन् ।

उनी आक्रोश पोख्छिन्, ‘जसका छोरी, बहिनी, श्रीमतीहरू फलामका गेटभित्र बस्छन् । उनीहरूको घरमा तलबमा राखिएका मान्छे र कुकुरले पहरा दिन्छन् । जसलाई घरबाट निस्किदा एक्लै हिँड्नु पर्दैन । एसी गाडी र प्लेन चढ्छन् । अनि जसका आफन्त र नातागोताका महिलाले बलात्कार र यौन दुव्र्यवहारको सामना गर्नुपरेको छैन । बलात्कार पछि मर्नु परेको छैन । उनीहरूले कानुन बनाए । त्यसकारण त्यस्ता मान्छेहरू मृत्युदण्ड बारे सोच्नै सक्दैनन् ।’

उनको प्रश्न छ, ‘यदि मृत्युदण्ड अपराध हो भन्ने व्यक्तिकी भर्खर जन्मिएकी छोरी, आमा, हजुरआमा, दिदीबहिनी, बुहारी वा अरू नातागोताका महिलामाथि बलात्कार हुन्छ । बलात्कारपछि योनिमा लठ्ठी घोचिन्छ । कुटपिट हुन्छ । अंगभंग गराइन्छ भने के त्यी व्यक्तिहरू फेरी पनि भन्लान त – मृत्युदण्ड हुनुहुन्न भनेर ?’

फाँसीकोे पक्षमा पुरुष पनि

तीन नम्बर प्रदेशका सांसद जीवन डंगोलले गत मंगलबार बसेको प्रदेशसभा बैठकमा बालिका बलात्कार गर्नेलाई फाँसीको व्यवस्था गर्न माग गरे । ‘बलात्कार जस्तो अमानवीय कार्य गर्नेलाई छुट दिनुहुन्न’ उनले भने ।

यस्तै संविधानको परिमार्जित विधेयकमाथि छलफल चलिरहेका बेला २०७२ भदौ ११ गते सभासद यज्ञराज सुनुवारले उनकै भाषामा ‘दुई कारी र एक चारी’लाई मृत्युदण्ड दिने गरी संविधानमै व्यवस्था गर्ने प्रस्ताव राखेका थिए । यद्यपि विधेयकमा संशोधन राखेर यो व्यवस्था गर्नुपर्ने उनको माग पुरा भएन ।
उनको ‘दुई कारी अर्थात, नरसंहारकारी, बलात्कारी र एक चारी अर्थात भ्रष्टाचारीलाई फाँसी दिने संविधान बनाउन माग गरेका थिए ।

दोष पुरुषको लिंगमा होइनः शशी बस्नेत, अधिवक्ता

महिला अधिकारको पक्षमा आवाज उठाउँदै आएकी अधिवक्ता शशी बस्नेत बलात्कारीलाई फाँसी दिने या नपुंसक बनाउने कानुनको पक्षमा छैनन् । उनी भन्छिन्, ‘अपराधीलाई सजायका साथै पीडितलाई क्षतिपूर्ति बढाउनु पर्छ ।

झन्झटिलो न्याय प्रणालीको अन्त्य गरी बलात्कृत महिलाहरूको तत्काल उपचार, क्षतिपूर्ति र पुनस्र्थापनाको सवालमा राज्य गम्भीर हुने हो भने पीडितले न्याय पाएको अनुभूति गर्छन् ।’ प्रहरीले मुद्दा दर्ता नै नगरिदिने, पीडितले उपचार र क्षतिपुर्ति समेत नपाएपछि आक्रोश बढ्दै जाँदा फाँसीको विषय उठेको उनको भनाइ छ ।

बस्नेत भन्छिन्, ‘बलात्कारीलाई मारेर वा उसलाई नपुंसक बनाएर बलात्कार रोकिदैन । समस्या पुरुषको मानसिकतामा हो, लिंगमा होइन ।’ बरु बलात्कारी मानसिकताको राम्ररी चिरफार गर्न सकेको खण्डमा भने घटना कम हुने उनको तर्क छ ।

मृत्युदण्ड अपराधको समाधान होइनः सुवोधराज प्याकुरेल, अध्यक्ष इन्सेक

नेपाल संयुक्त राष्ट्र संघको मृत्युदण्ड विरुद्ध घोषणाको पक्ष राष्ट्र हो । हाम्रो संविधानले नै मृत्युदण्डलाई निषेध गरेको छ । नेपालले संयुक्त राष्ट्र संघमा गरेको प्रतिवद्धता फिर्ता लिएको खण्डमा र संविधान संशोधन गरेको अवस्थामा मृत्युदण्डको व्यवस्था हुन सक्ला । तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अपराध गर्ने मान्छेले अपराधको पश्चाताप गर्नुपर्छ । अपराध गर्नेले दिनका दिन त्यो कुराको अनुभूत गरिरहनुपर्छ । जुन कुरा समाजले देख्नुपर्छ ।

मृत्युदण्डको व्यवस्था भयो भने अपराधी १२ सेकेण्डमै सिद्धिन्छ । उसलाई पश्चाताप गर्ने र समाजले उसको पश्चाताप देख्ने समय नै हुन्न । त्यसकारण पश्चातापको सिद्धान्तले भने अनुसार मृत्युदण्ड अपराधको समाधान होइन ।

मृत्युदण्डको व्यवस्था भएका छिमेकी मुलुक भारत, चीन, पाकिस्तान, बंगलादेश, युरोप र सर्वाधिक मृत्युदण्ड हुने अमेरिकामा समेत यो व्यवस्थाले अपराध घटेको देखिन्न । त्यसकारण पनि मृत्युदण्ड समाधान होइन भन्ने कुरा देखाउँछ । बरु मान्छेलाई मर्यादित र नैतिकवान बनाउने शिक्षामा जोड दिनु नै यसको विकल्प हो ।

केही प्रश्न

१. के बलात्कार यस्तो अपराध होइन वा हुनै सक्दैन, जस्को सजाय फाँसी निर्विकल्प हुन सकोस् ?

२. मानवअधिकारको प्रवर्तक तथा प्रवर्धक राष्ट्रहरूले मृत्युदण्ड दिँदा उनीहरू अझ बढी लोकतान्त्रिक हुने । तर हामीले भक्षकहरूलाई मृत्युदण्ड दिँदा चाहिँ हामी अलोकतान्त्रिक भइने डर हो ? की मृत्युदण्ड नदिँदा हामी बढी लोकतान्त्रिक भइन्छ भन्ने भ्रम हो ?

३. हाम्रो संविधानले नै मृत्युदण्डलाई निषेध गरेको छ भन्दै गर्दा नेपाल प्रहरीले गर्ने इन्काउन्टरलाई कुन रुपमा लिने ? त्यसो भए त गुण्डालाई पनि त सुध्रिने मौका दिनु पर्ने होला, जिउने अधिकार दिनु पर्ने होला नि ! यहाँ के फरक भो र ? फगत डोरी र गोलीको फरक मात्र त भएन र ?

४. गुण्डाले लुटपाट, हत्या, अपहरण गरेका प्रमाण जुटाएर ठाउँका ठाउँ गोली बर्साउदा अन्तर्राष्ट्रिय सम्झौता र संविधान विरुद्धको काम नहुने । अनि आफैले जन्माएकी छोरी, नातिनी, गर्भवती, वृद्धा, अपांगता भएकी या जो सुकै महिलालाई निर्मम यातनासहित बलात्कार गर्ने र हत्या गर्नेलाई प्रमाण जुटाएर किन इन्काउन्टर गर्न सकिँदैन ? के महिलाको पीडा प्रहरी र कानुनका व्याख्याताहरूले महसुस नगरेकै हुन् ?

५.आजका बलात्कृत महिलाले भोलि बदलाको भावना लिएर बलात्कारीलाई आफैले इन्काउन्टर गरे भने त्यसको जिम्मेवार को हुने ? की महिलाले बदला लिन सक्दैनन् र सशस्त्र विद्रोह गर्नै सक्दैनन् भन्ने संकीर्ण मानसिकताले मृत्युदण्डको विरोध गरेका हुन् ?

६. अवोध महिलाको जीवन बर्बाद गर्नेलाई जीवनको हक हुन्छ भन्नु मानवता हो ?

७. बलात्कारी मानसिकता महिलाको योनि विरुद्धको वितृष्णा हो । मेरी आमाको यही योनि नभएको भए मेरो अस्तित्व हुँदैनथ्यो भन्ने बुझ्ने मान्छेले कसरी बलात्कार गर्न सक्ला र ? अनि यिनै योनी (महिला)हरू भोली तिनै लिंगधारीहरूको विरुद्ध गए भने त्यसले समाज र प्रकृतिलाई पार्ने असर बारे सोच्ने की नसोच्ने ?

बलात्कारीलाई मृत्युदण्ड !