ब्रासलेट लगाएको आरोपमा विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही गर्न माग

धादिङ, चैत ५ – चाँदीको ब्रासलेट हातमा लगाएर विद्यालय आएको आरोपमा घाइते हुने गरी विद्यार्थी कुट्ने शिक्षकमाथि कारवाहीको माग गर्दै मानवअधिकार संस्था इन्सेकले सोमबार अपिल जारी गरेको छ ।
  
 
त्रिपुरासुन्दरी गाउँपालिका–७, अचने उच्च माविका कक्षा ११ मा पढने १६ वर्षीय सिजन अधिकारीलाई विद्यालयका प्रधानाध्यापक झयराम सिटौलालगायतले कुटपिट गरी फागुन ३० गते घाइते पारेको पीडित पक्षले बताएका छन् ।
 
घाइते भएका बालकको ढाडमा, गालामा चोट लागेको छ । घाइते बालकको खहरेको नीजि मेडिकलमा उपचार भएको थियो । घटनापछि विद्यालयका प्रधानाध्यापक सिटौलाले विद्यालयमा विद्यार्थीले अनुशासन पालना नगर्दा घटना भएको बताएका छन् ।
 
घटनापछि पीडित विद्यार्थीका परिवारले घटनामा सम्लग्नलाई कारवाही हुनु पर्ने माग गरेका छन् । इन्सेक र मानवअधिकार सञ्जालले जारी गरेको अपिलमा जिल्लालाई बालमैत्री विद्यालय बानाउन जिल्ला शिक्षा कार्यालय, जिल्ला बालकल्याण समितिलगायतसँग माग गर्दै दोषीलाई कारवाहीको गर्न अपिल गरिएको छ ।
 
यसअघि पनि जिल्ला सदरमुकाम धादिङबेशीस्थित बालमन्दिर आधारभुत विद्यालयका छात्राहरुमाथि विद्यालय परिसरमा लट्ठीले कुटेर घाइते बनाइएको र २ जना घाइते बालिकाको जिल्ला अस्पतालमा उपचार भएको थियो । 
http://ujyaaloonline.com/news/95651/Teacher-Beat-student-In-dhading/