मानवअधिकार हननका घटना कम गर्न सञ्चारको भूमिका महत्वपूर्ण

पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, २४ असार | ०२ घन्टा अगाडि
 

मानवअधिकार हननका घटना कम गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् । ओखलढुंगामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा छलफल गर्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले इन्सेकले स्थानीय तहका न्यायिक समितिहरुसँग समन्वय गरेर काम गरे सहज हुने बताए । उनले सञ्चारमाध्यमबाट न्याय सम्पादनका विषयमा सुझाव र प्रतिक्रिया दिएर कार्यसम्पादन सहज बन्ने भन्दै सहयोग गर्न आग्रह गरे । मेयर श्रेष्ठले हिंसाका घटना मिलापत्र हुने गरेको प्रसंगमा मिलापत्रले सामाजिक सद्भाव र न्याय दिनु पर्ने उनले बताए । ‘मिलापत्रले न्याय दिँदैन भने त्यो चाहीँ अन्याय हो’ श्रेष्ठले भने ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मानवअधिकार हनन्का घटना उजागर गरेर हल्ला गर्नेभन्दा न्याय निरुपणको बाटो देखाउने काममा पत्रकार र मानवअधिकारर्मी लाग्नु पर्ने सुझाव दिए । प्रजिअ पन्तले जिल्लामा मानवअधिकारका घटनाहरुको अभिलेखिकरण गरेर सार्वजनिक गर्ने कामले सरोकारवालाहरुलाई झकझक्याउने भन्दै इन्सेकलाई अब परिवर्तित अवस्था अनुसार संरचना तयार गरि स्थानीय तहमा काम गर्न सुझाव दिए ।

http://www.nayapatrikadaily.com/2018/07/08/69821/