सार्थक परिणामका लागि वार्ताको विकल्प छैन

माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने लगायतका माग राखी डा. गोविन्द केसी आमरण अनशन बस्नु भएको आज २५ दिन भएको छ । उहाँ अनसन बस्नु भएको तेस्रो दिनदेखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जारी गरेको विभिन्न प्रेस नोटमा उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको, मुटुको चालमा गडबडी देखिएको र जुनसकै बेला सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने उल्लेख थियो । उहाँ अनसनरत अस्पतालमा सघन उपचार कक्ष नभएकाले थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने डाक्टर केसीका शुभेच्छुकको माग अनुसार उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा साउन ३ गते अस्पताल परिसरमा भएको तोडफोड र साउन ५ गते काठमाडौँमा भएको प्रदर्शन र प्रहरी हस्तक्षेपले अनशनको विषयहरुको विषयान्तर हुने सम्भावना बढेको हामीले आँकलन गरेका छौँ । यसबीचमा डाक्टर केसीको स्वास्थ्य गम्भीर संकट उत्पन्न हुन थालेको चिकित्सकहरुले बताएको खबर सार्वजनिक भएको छ ।

डाक्टर केसीका हरेक जसो अनसनको हामीले अनुगमन गरिरहेका छौँ र यस विषयमा पटक पटक सरकार र अनशनरत केसी पक्षको ध्यानाकर्षण गराउँदै आएका छौँ [1] (डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको थालनी गर) । उहाँका मागहरु तेस्रो अनसनसम्म चिकित्सा शिक्षासँग केन्द्रित भए पनि त्यसपछिका मागहरु क्रमश संसद् र न्यायालयतिर सोझिएका छन् । डाक्टर केसीका मागहरु, सरकारसँग भएका सहमति र विरोधाभाषका सन्दर्भमा तयार पारिएको प्रतिवेदनको सार दिइएको लिङ्कमा हेर्न सकिन्छ ।[2] (डाक्टर गोविन्द केसीका १५ औँ अनशनसम्मका माग, सहमति र विरोधाभास)

डाक्टर केसीको अनशन र उनले उठाएका मागहरुको सम्बोधन हुनासाथ नेपालको चिकित्सा क्षेत्रमा रहेका तमाम बेथितिको अन्त्य हुने, औषधीहरु सुपथ मूल्यमा पाइने, कुनै पनि गरीब व्यक्ति स्वास्थ्य सेवा पाएर नमर्ने, विपन्न वर्गका छोराछोरीले निशुल्क पढ्न पाउने जस्ता विषय जोडतोडका साथ उठाइएको छ । तर केसीका मागहरु हेर्दा यी र यस्ता कुनै विषयले प्राथमिकता पाएको देखिँदैन ।

डाक्टर केसीले उठाएका मागहरु जायज छन् भने वार्ताको माध्यमबाट टुङ्ग्याउन कुनै कसर बाँकी राखिनु हुन्न । संसदीय समितिमा सरोकारवालाहरूको संलग्नतामा वार्ता गरी समस्या समाधान गर्न नेपाल सरकार समक्ष माग गर्दछौँ । डा. केसीलाई आफ्नो आधिकारिक प्रतिनिधिसहित वार्तालाई सार्थक बनाउन सहयोग गर्नुहुन अपिल गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

[1]   http://www.insec.org.np/press-release/20-july-2018/?lang=np 

[2]  http://insecresources.org.np/?r=60440&k=d0671b8c63