२०७५ मङ्सिर ३ गते

इन्सेकको अध्यक्ष पदमा डा. ईन्दिरा श्रेष्ठ चयन

इन्सेक कार्यसमितिको २०७५ कात्तिक ३० गते सम्पन्न बैठकले कार्यसमिति सदस्य डा. ईन्दिरा श्रेष्ठलाई इन्सेकको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको छ । इन्सेकका अध्यक्ष श्री सुबोधराज प्याकुरेल प्रदेश १ को योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त हुनु भएपछि उहाँले सो पदबाट राजीनामा दिनुभएको थियो । कार्यसमिति बैठकले श्री प्याकुरेलको राजीनामा स्वीकृत गरेको छ ।

Dr Indira Shrestha

त्रिभुवन विश्वविद्यालयको सह-प्राध्यापक श्रेष्ठले काठमाडौँ महानगरपालिकाका महिला उद्यमीहरूको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा त्रिविबाट विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । समाजसेवा तथा शिक्षा क्षेत्रका विभिन्न सामाजिक संस्थामा आबद्ध रही ग्रामीण तहका जनताको जीवनस्तर सुधार्न उहाँले योगदान गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, उच्च माध्यमिक शिक्षा पाठ्यक्रम विकास कमिटी सदस्यलगायत अनेकौँ संस्थामा आबद्ध उहाँ आफ्ना कार्यका कारण विभिन्न सम्मानबाट विभुषित तथा सम्मानित हुनुभएको छ । कामका सिलसिलामा विश्वका विभिन्न मुलुकहरूको भ्रमण गर्नुभएकी डा. श्रेष्ठ आफूले आर्जन गरेको ज्ञान अरुका लागि उपयोगी होस् भन्नेमा सचेत हुनुहुन्छ ।

इन्सेकले लिएको लक्ष्य प्राप्तिमा डा. श्रेष्ठको नेतृत्वले अझ उचाइ प्राप्त गर्नेमा इन्सेक परिवार विश्वस्त छ । डा. श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

मानव अधिकार तथा सामाजिक न्याय प्राप्तिका सन्दर्भमा निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले संस्थालाई दिनुभएको समय, नेतृत्व र मार्गदर्शनका लागि श्री प्याकुरेलप्रति आभार व्यक्त गर्दछौँ । प्रदेश १ को योजना आयोगको उपाध्यक्षका रूपमा उहाँको कार्यसफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Bijaya_Nepali_sign

विजयराज गौतम

कार्यकारी निर्देशक