अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न

मकवानपुर । २०८० असोज १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । परियोजनाले १५ ओटा महिला समूह गठन गरी समूहमार्फत महिलाहरूको अधिकार सहित आर्थिक सशक्तीकरणको लागि समाजमा सचेतना बढाउने काम भएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो । उहाँले सङ्घसंस्थाको कामलाई स्थानीय सरकारले अपनत्व लिएको कारण पनि कार्यक्रम सफल भएको बताउनु भयो । महिला सशक्तीकरण र आर्थिक सामाजिक  अधिकारको क्षेत्रमा इन्सेकले स्थानीय तहमा काम गर्दै आएको संयोजक भण्डारीले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी हेटौँडा उपमहानगरपालिका-१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले अहिलेको स्थानीय तहमा देखिएको महिला सहभागिता इन्सेक तथा डब्लुपीडी नेपाल जस्तै सङ्घसंस्थाको अभियानको उपलब्धि रहेको बताउनु भयो । तीन वर्षको अभियानमा समूह मोटिभेटर तथा सहजकर्ताहरूले आगामी दिनमा समाजहरूमा पुगेर अभियानलाई सार्थकता दिलाउन सन् २०२१ बाट सञ्चालित परियोजनाको प्रभावकारी बनाउने उहाँले बताउनु भयो । मनहरी गाउँपालिका-४ का वडाअध्यक्ष प्रकाश थापाले परियोजनाले महिलाहरूमा अधिकारसहितको आर्थिक विकासमा परिवर्तन ल्याएको बताउनु भयो । उहाँले इन्सेक र डब्लुपीडीलाई उक्त कार्यक्रम सञ्चालन गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो । मनहरी गाउँपालिका-१ का वडाअध्यक्ष शिव प्रसाद खनालले डब्लुपीडी र इन्सेकले यो तीन वर्षमा महिला दिदिबहिनीहरूमा परिवर्तन देखिएको बताउनु भयो । परियोजनाको समयपछी यो अभियानलाई पालिकाले अपनत्व लिएर अघि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

 

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रशासन अधिकृत लोकनाथ घिमिरेले परियोजनापछि सिकेका अधिकार प्राप्तिको प्रक्रिया, ज्ञान र सिपलाई स्थानीय स्रोत साधनलाई प्रयोग गरी जीवन उपयोगी बनाउन प्रयोग गर्न सुझाव दिनुभयो । सामाजिक विकास शाखा मनहरीका ज्ञानेन्द्र ढकालले समाजमा भएका समस्यालाई स्थानीय तहसम्म ल्याइपुर्‍याउन परियोजनाले सहयोग पुगेको बताउनु भयो । यसले गर्दा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरी महिला आर्थिक सशक्तीकरण, आयाअर्जन, हिंसा जास्ता समस्याहरू न्यूनीकरण गर्ने बताउनु भयो । उहाँले आगामी वर्षमा मनहरीको सबै वडाहरूमा परियोजना लैजान र दुरदराजका महिला बालबालिकाको आवाजलाई समेट्न आग्रह गर्नुभयो । मानव अधिकार समूह संयोजक बिमला गोपालीले परियोजनाको तीन वर्षमा मनहरीमा महिलाको क्षेत्रमा परियोजनाले उल्लेख्य योगदान पुर्‍याएको अनुभुति भएको बताउनु भयो । आगामी दिनमा स्थानीय तहबाट यस्ता परियोजना जस्तै कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो । डब्लुपीडी नेपालकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईले इन्सेकसङ्गको साझेदारीमा मनहरी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा परियोजना सञ्चालित भएको बताउनु भयो । सन् २०२१ बाट सुरु परियोजना मनहरी गाउपालिकाको वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा सञ्चालित रहेको छ । परियोजनाले १५ ओटा महिला समूह गठन गरी समूहमार्फत महिलाहरूको अधिकार सहित आर्थिक सशक्तीकरणको लागि समाजमा सचेतना बढाउने काम भएको इन्सेक कार्यक्रम संयोजक कृष्ण नेपालले बताउनु भयो ।

पुष्पराज अधिकारी