अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

अछाम । २०७८ फागुन २५ गते

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ मुल नाराका साथ १२२ औँ अन्तर्राष्ट्रिय महिला दिवासको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरिएको छ । इन्सेकलगायत मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल विभिन्न संघसस्थाहरुको आयोजनामा फागनु २४ गते जिल्ला सदरमुकाम मंगलसेनमा र्यालीको आयोजना गरी कोण सभा तथा देउडा प्रतियोगित सम्पन्न गरिएको थिए ।

कोणसभामा बोल्दै अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य रहनु भएका यज्ञराज बोकटीले छोराछोरीमा समान व्यवहार र महिलालाई आर्थिक रुपमा बलियो बनाइयो भनेमात्रै महिलामाथिको विभेद र हिंसाको अन्त्य भएर जाने बताउनु भयो । उहाँले विभिन्न समयमा महिलाहरुले गरेको आन्दोलनका कारण महिलाहरुलाई संवैधानिक तथा कानुनी अधिकार दिइएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले पनि महिलाहरुले विभिन्न प्रकारका हिंसा र विभेद सहनु परेको बताउनु भयो । महिला अधिकारलाई सुरक्षित गर्न कानुन, नीति र कार्यक्रम निर्माण गरिएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या हुने गरेकोले यसका लागि सम्बन्धीत पक्षहरुले निरन्तर रुपमा दबाव दिन आवश्यक रहेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।

महिलामाथि हुने विभेद र हिंसाको अन्त्यका लागि छोरीहरुको शिक्षामा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावलले बताउनु भयो । जिल्लाका १० ओटै स्थानीय तहले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुको साथै डेउडा प्रतियोगिता र अधिकारको क्षेत्रमा क्रियशिल महिलाहरुलाई सम्मान गरिएको थियो ।

शिवराज ढुङ्गाना