अपराध नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक : प्रहरी इन्स्पेक्टर

दैलेख । २०७९ पुस १६ गते

दैलेखका निमित्त प्रहरी इञ्चार्ज प्रहरी इन्स्पेक्टर पुरुषोत्तम कार्कीले अपराध नियन्त्रणमा आम सर्वसाधारणको सहयोग आवश्यक रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पुस १६ गते दैलेखमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटना वार्षिक समीक्षा कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । मानव अधिकार ज्यादतीको तथ्याङक वा प्रहरीको उजुरीमा कमी आएकै भरमा समाजमा शान्ति, सुव्यवस्था राम्रो हुन नसक्ने प्रहरी इन्स्पेक्टर कार्कीले धारणा राख्नुभयो । तथ्याँकमा सङ्कलन प्रभावकारी बनाउने र पीडितहरु सबै उजुरी प्रक्रिया आउन सके मात्र शान्ति कायम हुनसक्ने उहाँको भनाई थियो । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक)का कार्यकारी निर्देशक हीरासिंह थापाले बलात्कारको संख्याले उमेर पुगेका महिलाको तुलनामा बालिकाहरु बढी असुरक्षित रहेकोले बालिका सुरक्षा सवालमा गम्भीर हुन जरुरी रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तीर्थ भण्डारीले इन्सेकको मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् र ज्यादती घटना सार्वजनिक गर्न थालेपछि अपराध रोकथाममा सहयोग पुगेको सुनाउनु भयो ।

   

त्यस बखत मानव अधिकार रक्षक सञ्जालका सदस्य सविना बिकले लैंगिक हिसाव महिलाहरु घरेलु हिंसा र यौन दुर्व्यवहार पर्ने गरेको पीडितको सुरक्षामा सरकारको चासो रहनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२२ अवधिमा ६६ वटा घटना रहेका जानकारी गराउनुभएको थियो । सबै भन्दा धेरै २० जना बालिका बलात्कार, १४ वटा घरेलु हिंसा, आठ बहुविवाह, सात बालविवाह, छ वटा महिला माथि यौन दुर्व्यवहार, तीन जना उमेर पुगेका महिला बलात्कृत भएको जनाइएको छ । इन्सेकले सङ्कलन गरेको तथ्याङक अनुसार बालबालिकाको हत्या, बालिका माथि यौन दुर्व्यवहार, बालबालिकालाई कुटपिट र आत्महत्या दुत्साहनको दुई–दुई घटनासंगै एक गर्भपतनका घटना भएका छन् । इन्सेकले विगत ३० वर्षदेखि नेपालभरको मानव अधिकारको हनन् र ज्यादतीको अवस्था अध्ययन तथा बिश्लेषण गर्न हरेक जिल्लामा एक–एक जना जिल्ला प्रतिनिधि मार्फत तथ्याङक सङ्कलन गर्दै आएको छ । सन् सम्वतलाई आधार मानी १९९२ देखि सङ्कलित तथ्याङकलाई पुस्तकको रुपमा प्रकाशन गर्ने गरिएको छ ।

अमर सुनार