अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड

तनहुँ । २०७९ जेठ १६ गते

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा हुने गरेको विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । इन्सेक, आइएनएफ र डिडाको आयोजनामा बन्दिपुरमा जेठ १३ गते आयोजित शिक्षामा प्रविधियुक्त पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शिक्षा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई हुने गरेको विभेदलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । अब गाउँपालिकाले त्यस्ता खाले विभेदपुर्ण नीतिलाई खारेज गर्ने अध्यक्ष थापाले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिलाई हेयको दृष्टिले हेरिने गरेको भन्दै त्यस्तो विभेदलाई हटाउनुपर्ने अध्यक्ष थापाको भनाइ थियो । गाउँपालिकाले अपाङ्गतामैत्री पाठ्यक्रम निर्माणलाई जोड दिने पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिको सवालमा सरकारले कुनै नीतिगत संरचना नबनाएको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई ठुलो विभेद हुने गरेको भन्दै राज्यले नै नीतिगत रूपमा त्यस्तो विभेद हटाउन पहल गर्नुपर्ने बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्त पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको एकिन तथ्याङ्क नहुँदा नीति निर्माणमा एकरूपता हुन नसकेको बताउनु भयो । श्रोत र साधनको अभावमा पहुँचयुक्त प्रविधिको विकास गर्न नसकिएको उहाँले बताउनु भयो । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षामा कसरी पहुँच पुर्‍याउन सकिन्छ भन्ने बारेमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रकाशचन्द्र भट्टाई