अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
सोलुखुम्बु । २०७९ असार ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा असार ६ गते “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” सल्लेरीमा सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरी देखि जुन १५ सम्म जिल्लामा अभिलेखीकरण गरिएका मानव मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाकामाथि समीक्षा गरिएको हो । सन् २०२१ मा २८ ओटा घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२२ को प्रथम ६ महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिएको छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अञ्जु कार्कीले सबै भन्दा बढी घरेलु हिंसा र बालिका माथि हुने बलात्कारका घटना बढी प्रतिवेदन सार्वजनिक गर्नु भएको छ । गत वर्ष १० ओटा बलात्कारका घटना अभिलेखीकरण गरिएकोमा यो वर्ष ६ महिनाको अवधिमा नौ ओटा बलत्कार र बलात्कार प्रयासका घटना अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो ।
इन्सेकको तथ्याङ्क अनुसार गत वर्ष ६ ओटा घरेलु हिंसाका घटना अभिलेखीकरण गरिएकोमा चालू वर्षको ६ महिनामा १३ ओटा घटना अभिलेखीकरण गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा प्रदेश सांसद तथा नेकपा एमाले प्रदेश १, का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले इन्सेकले समग्र जिल्लामा मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । इन्सेकको प्रतिवेदन अनुसार सबै भन्दा बढी बालिका र महिला नै पीडित भएको पाइएकाले नागरिकहरू साक्षर र सचेत भए पनि महिला र बालबालिकामाथिका घटना बढ्दै जानु दुःखद भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिलजङ्ग शाहले प्रहरीले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य गर्दै आएको बताउनु भयो । मानव अधिकारको क्षेत्रमा काम गर्दे आएको इन्सेक जस्ता सङ्घसस्थासँगको सहकार्यमा पुन स्थानीय तहमा कार्यक्रम गर्ने इच्छा भएको डिएसपी शाहले बताउनु भयो । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मानव अधिकारकर्मी र पत्रकारलगायतको सभागिता रहेको थियो ।
अञ्जु कार्की