
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नुवाकोट । २०८० असार ११ गते
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार ११ गते विदुरमा सम्पन्न गरेको छ । इन्सेकको आयोजनामा भएको कार्यक्रममा सरकारी वकिल कार्लालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले प्रहरीले कुनै घटनाको जाहेरी लिन्न भन्न नपाउने बताउनु भयो । कहिले काहीँ प्रहरीले जाहेरी दर्ता गरेन भन्ने गुनासो आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘कोही पीडित जाहेरी दर्ता गराउन आउँछ भने प्रहरीले दर्ता गर्नुपर्छ । घटनाका अनुसन्धान गर्दा मुद्धा चलाउन आवश्यक नपर्ने देखिएमा मुद्धा नचलाउन सकिन्छ । तर, जाहेरी नै लिन्न भन्न हुँदैन ।’ जिल्ला न्यायाधिवक्ता ओलीले पीडित होस्टाइल हुने क्रम पनि बढेकोले पीडितलाई होस्टाइल हुन नदिनको लागि सङ्घसंस्था र नागरिक समाज, मानव अधिकारकर्मीहरूले ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले पीडितहरू होस्टाइल हुने भएकोले प्रहरीले पछिल्लो समय बयान लिँदा भिडियोसहित लिने व्यवस्था गरिएको र सो भिडियो नै अदालतमा बुझाउने गरेको बताउनु भयो । पीडितले अदालतमा बयान परिवर्तन गरेको कारण मुद्धा कमजोर हुने र बाहिरबाट हेर्दा पीडितले न्याय नपाएको देखिने एसपी पण्डितले उल्लेख गर्नुभयो । एसपी पण्डितले भन्नुभयो, ‘करकापमा पारेर प्रहरीले बयान लिएको होइन भन्ने प्रमाणित गर्न पनि भिडियोसहित राख्ने गरेका हौँ ।’ उहाँले जिल्लामा बालविवाहका घटनाहरू रोक्न प्रहरीले सक्रिय भएर काम गरिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला कारागारका प्रमुख गंगालाल योगीले कारागारमा पानीको अभाव, स्वास्थ्यको दरबन्दी अनुसार जनशक्ति नभएको बताउनु भयो । उहाँले कैदी बन्दीको लागि बेला बेलामा मनोपरामर्शको आवश्यकता भए पनि त्यस्तो कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष लोचन भट्टराईले मानव अधिकारको दृष्टिमा अपाङ्गता भएकाहरूको सवाललाई प्राथमिकता दिएर काम गर्न पर्नेमा जोड दिनुभयो । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष देवराज कडेलले बालबालिकाहरूलाई विद्यालयले प्रवेश परीक्षाको नाममा मानसिक तनाव दिएर बाल अधिकारको हनन् गरिरहेकोले यो सवालमा आवाज उठाउन पर्ने बताउनु भयो । कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको सञ्जालकी पूर्व अध्यक्ष शर्मिला थापामगरले आर्थिक अभावका शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई स्थानीय सरकारले अभिभाकत्व लिएर शैक्षिक पहुँचमा लैजानको लागि मानव अधिकारकर्मीहरूले दबाब दिनुपर्ने बताउनु भयो । कार्यक्रममा मनोपरामर्श दाता रुपा राईले मानव अधिकारबाट पीडित भएकाहरूलाई उचित परामर्श दिएर मनमा परेको चोटबाट मुक्त गराउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२३ को जनवरीदेखि जुनसम्म मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो । उक्त अवधिमा बलात्कारका नौ ओटा, बलात्कार प्रयासका ६ ओटा, बहुविवाहका चार ओटा, कर्तव्य ज्यानको एक ओटा घटना भएकोे थियो ।
नवदीप श्रेष्ठ