अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

भक्तपुर । २०८० असार ८ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा ०८० असार ८ गते सम्पन्न गरेको छ । इन्सेकले सङ्कलन गरेको घटनाको तथ्याङ्क अनुसार यस ६ महिनाको अवधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलातकार, दुई जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट पाँच जना र बहुबिवाहबाट दुई जना पीडित भएका छन् । त्यस्तै दुर्व्यवहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला, आत्महत्या दुरुत्सानमा दुई जना पीडित भएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य आफैले नयाँ प्रकृतिको हिंसा गर्दै गइरहेको र राज्य नै नीतिगत हिंसामा लागेको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषणको दायरालाई फराकिलो पार्नुपर्ने बताउँदै भन्नुभयो, ‘राज्य नै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय सङ्कट निम्त्याउँदै छ, महङ्गी बढाएर बाँच्न मुस्किल बनाउँदैछ, यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ ।’ कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन नहुँदै इन्सेकले मानव अधिकार घटनाका विवरण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउँदै आएको चर्चा गर्नु भयो । उहाँले इन्सेक र यसको तथ्याङ्कलाई राज्यले बहुत ठूलो महत्व दिएको छ भन्दै राज्यले समायनुकुल ऐन, कानुनलाई परिमार्जन गर्दै लैजानु पर्ने औँल्याउनु भयो । उहाँले भन्नुभयो, ‘२० वर्ष नभई विवाह गर्न कानुनले दिँदैन, अहिलेको समयमा १४ वर्षमै परिपक्क देखिन्छन्, त्यसरी विवाह भएर जन्मेका बच्चाको अधिकार के हुने, बहुविवाह दर्ता हुँदैन तर उनीहरूबाट जन्मेका बच्चाको अधिकार के हुने भन्नेबारेमा राज्य स्पष्ट हुनुपर्छ, विवाह गर्ने उमेर पनि अब घटाउनु पर्छ, यस्ता विषयमा इन्सेकले राज्यलाई सुझाब दिनुपर्छ ।’

          

शान्ति सुरक्षा र मानव अधिकारको रक्षा गर्न प्रहरी र प्रशासनलाई समुदायका प्रत्येक नागरिक बिना पोशाकका प्रहरीको भूमिका निर्वाह गर्ने र राजनीतिक दलले आफ्ना प्रत्येक युवा कार्यकर्तालाई यसबारेमा सचेना जगाउन आवश्यक रहेको उहाँले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले साइबर क्राइम र लागू औषधका कारण अपराध बढिरहेको बताउँदै मानव अधिकार हनन् हुन नदिन प्रहरी संवेदनशील रहेकाले समुदायसँग साझेदारी गर्दै यस्ता घटनाको नियन्त्रणमा प्रहरी लागिरहेको बताउनु भयो । प्रहरीले दिनरात दुख गरेर गिरफ्तार गरेको कतिपय अपराधीलाई अदालतले सामान्य धरौटीमा छाडिदिने र ती अपराधी पुन अपराध कर्ममा लाग्ने समस्याले जकडिएको भन्दै उहाँले कानुन बलियो बनाउँदै कार्यन्वयनमा जानुपर्ने बताउनु भयो । त्यस अवसरमा नेपाल बार एशोसियन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, मानव अधिकारकर्मी युवराज घिमिरे, गैसस भक्तपुरका उपाध्यक्ष एवम् सिविसका महासचिव अनिता पाण्डे, पत्रकार महासङ्घ भक्तपरका अध्यक्ष जगत प्रजापति, मानव अधिकार एलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले इन्सेकले मानव अधिकारका घटनाको अवस्थाको तथ्याङ्क सङ्कलन र राज्यलाई सुझाब दिने विषयमा दायरा फराकिलो पार्दै जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक अर्थात एसपी प्रकाश आचार्य, शसस्त्र प्रहरी बल दुवाकोटका शसस्त्र प्रहरीका डिएसपी राममणी पौडेल, नेपाली सेनाका इन्द्र बक्स गढा, भक्तपुरका मेजर काजी बोहरालगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवम् पत्रकार र मानव अधिकारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीले सङ्कलन ६ महिनाका मानव अधिकार हननका घटनाको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो भने प्रमुख अतिथि लगायत अतिथिहरूलाई मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नुभएको थियो ।

रमेश गिरी