अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

सिन्धुपाल्चोक । २०८० असार ८ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा ०८० असार ८ गते चौतारामा सम्पन्न गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समीक्षा कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वयका प्रमुख कृष्णप्रसाद सुवेदी, मालपोत कार्यालयका प्रमुख चण्डीप्रसाद कोइराला, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव कुमार यादव, नेपाली कांग्रेसका जिल्ला उपसभापती टंक कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य भिमसेन खड्का, नेपाल पत्रकार महासङ्घका सचिव बिदुर आचार्य, नेपाल उपभोत्ता मञ्चका अध्यक्ष संसार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभयो । इन्सेक सिन्धुपाल्चोकले ६ महिनामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले कार्यक्रममा प्रस्तुत गर्नुभयो । प्रस्तुत ०७९ पुस १७ गतेदेखि असार ६ गतेसम्मका मानव अधिकार उल्लङ्घनका घटनाहरूमध्ये व्यक्तिगत हत्याका घटना एक, जेलभित्र झडप एक, बलात्कारका घटना सात, बलात्कार प्रयास पाँच, यौन दुव्यवहार दुई, जातीय विभेद एक, बहुविवाह तीन, विद्यालयभित्र यातना एक, एसिड प्रहार एक र घरेलु हिंसा १८ गरी जम्मा ४० ओटा घटनाहरू रहेका थिए । अर्ध वार्षिक रुपमा प्रस्तुत प्रतिवेदनमा यस ६ महिनामा ४३ जना पीडित भएको उल्लेख छ ।

समीक्षा कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालयबाट मानव अधिकार संरक्षणका सवालमा भएका कार्यहरू पनि यस्ता फोरममा राखिदिन इन्सेकलाई आग्रह गर्नुभयो । शिक्षा तथा समन्वयका प्रमुख कृष्णप्रसाद सुवेदीले मानव अधिकार संरक्षणमा जिल्ला शिक्षा समन्वय कार्यालय सँधै प्रतिबद्ध रहेको भन्दै जिल्लाका सबै विद्यालयहरू बालमैत्री उन्मुख भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव यादवले इन्सेकद्वारा प्रस्तुत ६ महिनाको प्रतिवेदनमा राज्यको तर्फबाट मानव अधिकार उल्लङ्घनका घटना नहुनु सकारात्मक भएको र प्रहरी सँधै मानव अधिकार संरक्षणमा संवेदनशील हुने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापती टंक कार्की, नेकपा एमालेका जिल्ला सदस्य भिमसेन खड्का, चौतारा सागाचोकगढी नगरपालिका ५ नं. वडा अध्यक्ष शिव श्रेष्ठ, समाजसेवी नरमान श्रेष्ठ, महिला रक्षक शोभा उलक, नेपाल पत्रकार महासङ्घका सचिव बिदुर आचार्य लगायतले आआफ्नो भनाई राख्नुभएको थियो । नेपाल बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्रबहादुर थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा हरेक तीन तीन महिनामा गर्नुपर्ने वक्ताहरूको धारणा रहेको थियो ।

नातिबावु धिताल