अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

सुनसरी । २०८० असार ३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार ३ गते सुनसरीको इनरुवामा सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न गरिएको समीक्षामा सरोकारवालाहरुले देशमा शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भएपनि नागरिकले विधिको शासन, मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । समीक्षामा इन्सेक प्रतिनिधिले जिल्लामा सन् २०२३ को जनवरीदेखि जुन १५ सम्मको इन्सेक अभिलेखका आधारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गर्नु भयो । तथ्यांकमा हत्याका घटना पाँच ओटा, बहुविवाहका १० ओटा, घरेलु हिंसाका २० ओटा, बलात्कारका ४३ ओटा, बलात्कार प्रयासका १० ओटा, बालबिज्याइका नौ ओटा, बाल यौन दुर्व्यवहारका पाँच ओटा, हाडनाताकरणीका दुई ओटा, अप्राकृतिक मैथुनको एक ओटा, सामूहिक बलात्कारको एक ओटा, सरकारी सवारी तोडफोडको एक ओटा र पत्रकारलाई धम्कीका  दुई ओटा गरी  १ सय ११ ओटा घटना सार्वजनिक गरिएको छ । राज्यको कार्यान्वयन निकायमा नैतिकता, इमान्दारिता, सुशासन, विधिको शासन, जवाफदेहिताको अभाव देखिएकोले नागरिकमा मानवअधिकारमैत्री अनुभूति नभएको गैसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले बताउनु भयो । मानवअधिकारको उल्लङ्घन कम भएपनि अपराधिक घटनाहरु हुने क्रम भने जारी रहेको मानव अधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराईले बताउनुभयो । उद्योग वाणिज्य संघ, इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले नागरिकको मानवअधिकार रक्षाका लागि राज्य संयन्त्र पूर्ण रुपमा सकृय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकारसगै नागरिक कर्तव्यको कुरामा पनि ध्यान दिनुपर्ने र शिक्षामा वञ्चित रहेका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनु भयो । समीक्षामा सहभागी चुन्नी खातुनले विगतको भन्दा घटनाको प्रकृति र स्वरुप फेरिएपनि घटना कम नभएकाले सचेतनाका कार्यक्रम र केही नीतिगत सुधार गर्न जरुरी रहेको बताउनु भयो । अधिकारकर्मी गंगाराम खत्वेले इन्सेकले जिल्लामा अनुगमन तथा रिपोर्टिगका क्रममा मानव अधिकार उल्लङ्घनका घटनाहरु संकलन गरेकोमा प्रशंसा गर्दै विद्यालयको दीवा खाजा कार्यक्रमको विशेष अनुगमन गर्न इन्सेकलाई आग्रह गर्नु भयो ।

  

कार्यक्रममा लक्ष्मण दहियारले मानव अधिकारको सवाल गाउँगाउँमा सचेतना फैलाउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघका सदस्य वीरेन्द्रकुमार साहले जातीय विभेद र छुवाछूतको अंशहरु अझै रहेकाले न्यूनीकरणका लागि तीनै तहका सरकारलाई गम्भीर हुन आग्रह गर्नु भयो । प्राध्यापक रमेन्द्र कोइरालाले स्वास्थ्य बीमाको औषधिहरु नपाएकाले त्यस सवाललाई पनि इन्सेकले सम्बोधन गर्न पहल गर्नुपर्ने बताउनु भयो । जनता माध्यमिक विद्यालयका शिक्षक लिलानाथ सिलवालले घरेलु हिंसा धेरै रहेको तर बाहिर कम सार्वजनिक हुने भएकाले गाउँगाउँमा सचेतना आवश्यक रहेको बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल, सुनसरी अध्यक्ष सहजादी प्रविणले स्वास्थ्य संस्थाहरुमा जीवनजल समेत नपाएको र औषधि अभावको मारमा सेवाग्राही रहेकाले त्यसलाई सुधार गर्न अनुगमन आवश्यक रहेको बताउनु भयो ।  पारालिगल कमिटीकी इन्दिरा पराजुलीले शिक्षा समितिहरु निकृय रहेको र अनुगमन नहुँदा शैक्षिक गुणस्तर खस्केकाले अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । इनरुवा नगरपालिकाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेलले संविधान भएको मौलिकहकहरुको उपभोग नागरिकले निर्वाद रुपमा गर्न पाउनु नै सच्चा मानवअधिकार हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । अधिकारकर्मी वीरेन्द्रकुमार साहले मिटरव्याजीको बारेमा समेत इन्सेक प्रतिवेदनमा उल्लेख हुनुपर्ने सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै क्षेत्र मानवअधिकार भित्रैपर्ने भएको र सामाजिक न्यायसहितको मानवअधिकारको प्रत्याभूति नभएसम्म मानवअधिकारको कुराले सार्थकता नपाउने भएकाले सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले इन्सेकको वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले सबै घटनाको सुक्ष्म अनुसन्धान गरेर ल्याउनुपर्ने र त्यसमा ६ वर्षको स्थानीय सरकारका न्यायिक समितिको विवरण र प्रगतिसमेतको तथ्य र तथ्यांकलाई समावेश गर्नुपर्ने सुझाव दिनुभयो । इन्सेकले नेपाल मानवअधिकार वर्षपुस्तक–२०२४ का लागि जिल्लामा मानव अधिकारका घटनाहरु अभिलेखीकरणका क्रममा छुटेको र केही सुझावहरु, पृष्ठपोषणहरु आवश्यक भएकाले समीक्षा गरिएको इन्सेक प्रतिनिधिले बताउनु भयो । इन्सेकले घटना अभिलेखीकरणका समयमा सूचना संकलनमा समस्या, सरोकारवालाहरु घटनाको बारेमा खुलेर नबोल्नु, घटनालाई पहिला मिलाउने र नमिले मात्रै बाहिर आउनु, राजनतिक हस्तक्षेप, कारबाहीको प्रक्रिया ढिलो हुनु, पीडितहरुको कागज र मुचुल्का कमजोर पार्ने काम हुने गरेको अनुगमनका क्रममा पाइएको सरोकारवालाबिच जानकारी गराएको छ । समीक्षा कार्यक्रम इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

जयकृष्ण यादव