अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इलाम । २०७९ असार ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक इलामको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम असार ५ गते इलाममा सम्पन्न गरिएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ । जसमा हत्याको एक ओटा, महिला अधिकारसँग सम्बन्धित बलात्कारका,  बलात्कारका प्रयासका  सात ओटा,  बाल विवाहका दुइ ओटा,  कुटपिट एक , आत्महत्या दुरुत्साहन एक, घरेलु हिंसा एक र बालिका बलात्कार बलात्कार प्रयास यौन दुर्व्यवहार १० गरी २३ जना पीडित भएको अभिलेख रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले इन्सेकको डाटाले स्थानीय तहका जनप्रतिनिधिहरुलाइ घच्घच्याउने काम गरेको बताउनु भयो । जिल्लाको मानवअधिकार  उल्लङघनको घटनाको विषयमा के हुँदै छ भन्ने कुरालाई छर्लङ्ग पारेको कुरा बताउनु भयो र मानवअधिकारको छेत्रमा रहेर मानवअधिकारको रक्षा गर्न आफू सधै तत्पर रहेको बताउनु भयो ।

डिएस पी  गंगाबहादुर थापाले जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु बढी रहेको र त्यसमा पनि बढी बालिकाहरु पीडित रहेको कुरा बताउनु भयो । जिल्लामा यस्ता किसिमका घटनाहरु बढ्न नदिनका लागि सबैले आआफ्नो क्षेत्रबाट लागि पर्न अनुरोध गर्नु भयो । जिल्लामामा प्रहरी कार्यालय इलामबाट गाउँगाउँमा स्थानीयहरुलाई राखी छलफल कार्यक्रममा ,बिधालयहरुमा विद्यार्थीहरुमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको कुरा प्रष्ट पार्नु भयो । इलाममा विभिन्न किसिमको घटनाहरु र प्रहरी कार्यलय थुनामा अभियुक्तहरु रहदा कुनै पनि किसिमको घटनाहरु नभएको र  घटना घटेपछि अभियुक्तहरुलाई तत्काल गिरफ्तार गर्न सफल रहेको जानकारी दिनु भयो  । जिल्ला प्रमुख अधिकारी माधव प्रसाद ढुंगानाले विशेषगरी इलाममा गल्स होस्टल ,बाल अनाथालयहरुमा बालिकाहरुमाथी यौनजन्य घटनाहरु बढी रहदा यसले जिल्लामा नराम्रो असर परेको कुरा बताउनु  भयो । बालबालिकाहरु माथी हुने अन्याय अत्याचारका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय सधै तयार रहेको बताउनु भयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिसँगै पत्रकारहरूको सहभागिता रहेको थियो ।

वविता मैनाली