अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

मकवानपुर । २०८० असार १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ४६ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले प्रस्तुत गर्नुभएको थियो । जसमध्ये १८ जना बालिका बलात्कारका घटनामा पीडित भएका छन् । जिल्लामा बालात्कारका घटनामा बालिकाहरू धेरै पीडित देखिनुले जिल्लाको मानव अधिकारको अवस्था चिन्ताजनक भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनु भयो । उहाँले यस्तो घटना सार्वजनिक हुनु मानिसहरूमा आएको चेतना र उजुरीका आधार बढ्दै गएको मान्न सकिएतापनि यसले जिल्लाको मानव अधिकारको चित्रण दर्साउने भएकोले यसतर्फ सबै प्रशासनिक निकाय, जनप्रतिनिधि र सङ्घसंस्थाले ध्यान दिन जरुरी रहेको बताउनु भयो । यस्तै जिल्ला समन्वय समितिका समन्वय अधिकारी बासुदेख खतिवडाले इन्सेकले मानव अधिकारका समग्र पक्षलाई समेटेर दस्तावेज गर्न सुझाव दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाकी अधिकृत रेवा रेग्मीले हिंसामा बालिकाहरू बढी पीडित देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले बलात्कार तथा यौन दुर्व्यवहार घटनाहरू बढ्नुले बालिकाहरू असुरक्षित देखिएको बताउँदै यसले समाजको पनि अवस्थाबारे देखाउने भएकाले सुरक्षित समाज निर्माणको लागि सबै पक्षको ध्यान जान आवश्यक रहेको औँल्याउनु भयो । गैसस महासङ्घ मकवानपुर अध्यक्ष रमिला सापकोटाले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना बढ्नु अत्यन्तै चिन्ताजनक रहेको बताउँदै सञ्चारकर्मीहरूलाई मिडियामार्फतबाट भुमिका बढाउन आग्रह गर्नुभयो । साथै घटना न्यूनीकरण गर्दै सुरक्षित र मानव अधिकार सुनिश्चित समाज निर्माणमा गैससका सबै जनप्रतिनिधिसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनु भयो ।

मकवानपुर जिल्ला अदालत बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेतले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा प्रहरीले दुईतर्फी पाटोबाट अनुसन्धान सहित प्रतिवेदन बनाउन आवश्यक देखिएको बताउनु भयो । कतिपय घटनामा कसैको उक्साहटमा उजुरी दिने र पछि अदालतमा होइन भन्नेजस्ता पीडितको बयान आउने देखिएको भन्दै यसले वास्तविक पीडितप्रति पनि शङ्का गर्ने स्थित पैदा भएको बताउनु भयो । कार्यक्रममा इन्सेक बागमती प्रदेश हेटौँडाका प्रलेख अधिकृत सोम नेपालीले इन्सेकले मानव अधिकारको पक्षमा गर्दै आएको कामबारे जानकारी दिँदै उठेका जिज्ञासाहरूमा प्रष्ट पार्नुभयो । इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार यसवर्ष सन् २०२३ को जनवरीदेखि जुनसम्म मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४६ ओटा घटनामा अन्य पक्षबाट ४८ जना मानिस पीडित भएका छन् । जसमध्ये ३७ जना महिला र सात जना पुरुष र एक जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पीडित भए । जिल्ला प्रतिनिधी अधिकारीका अनुसार बाल अधिकारका घटनामा १८ जना बालिका पीडित भएकोमा १५ जना बलात्कार, तीन जना यौन दुर्व्यवहार र एक जना बालक हत्याबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा १९ जना पीडित भएकोमा नौ जना बलात्कार, दुई जना बलात्कार प्रयास, एक जना हत्या र सात जना बहुबिवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा दुई ओटा हत्याका घटना भएका छन् भने सात ओटा कुटपिट सहित हत्या प्रयासका घटना भएका छन् । जसमा हत्याबाट एक जना महिला र एक पुरुष छन् भने कुटपिट सहित हत्या प्रयासबाट ६ जना पुरुष र एक जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

पुष्पराज अधिकारी