अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

झापा । २०७९ असार ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम विर्तामोडमा असार ३ गते सम्पन्न गरिएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । सन् २०२२ को पहिलो छ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ । जसमा हत्याको चार ओटा, महिला अधिकारसँग सम्बन्धित बलात्कारका ३४ ओटा, बलात्कारका प्रयासका दुई ओटा, बहुविवाहका १२ ओटा, मानव वेचविखनका चार ओटा, दाइजो नदिएको एक ओटा, जातीय भेदभाव तथा छुवाछुतको एक ओटा, यौन दुर्व्यवहारका १५ ओटा गरी ७३ ओटा घटनामा ७४ जना पीडित भएको अभिलेख रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षामा प्रमुख जिल्ला अधिकारी छवि रिजालले मानव अधिकारको संरक्षणका लागि इन्सेकको अभियान महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले आफू मानव अधिकारको संरक्षणका लागि प्रतिवद्ध रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रिजालले मानव अधिकारको संरक्षणका लागि सरोकारवाला निकायका जनशक्तिलाई तालिमको आवश्यकता रहेको भन्दै रिजालले भन्नु भयो–‘जिल्ला प्रशासन, प्रहरी, अदालत, सरकारी वकिललाई समेत मानव अधिकारको तालिम आवश्यक रहेको छ ।’

एसपी विश्वमणी पोखरेलले दक्ष जनशक्तिको अभावमा प्रहरीले मानव अधिकारमैत्री व्यवहार गर्न नसकेको स्वीकार गर्नु भयो । एसपी पोखरेलले मानव अधिकार संरक्षणमा सबैको साथ आवश्यक रहेको बताउनु भयो । पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले मानव अधिकारको पहिलो रक्षक पत्रकार रहेको भन्दै पत्रकारमाथिको धम्कीका विषयमा विज्ञप्ती निकाल्ने र कानूनी उपचारमा जाने गरेको बताउनु भयो । अध्यक्ष गिरीले मानव अधिकारसँग सम्बन्धित घटनाका बारेमा पत्रकारलाई जानकारी गराएर सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा मानव अधिकार सञ्जालका झापा सचिव रूपक खनाल, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, वीरू दर्नाललगायतले इन्सेकले मानव अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिसँगै पत्रकारहरूको सहभागिता रहेको थियो ।

नरेश खाती