अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

धनकुटा । २०७९ असार ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२२ को प्रथम छ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४८ ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । जसमा घरेलु हिंसाका ३०, हत्या दुई ओटा, राज्यपक्षबाट कुटपिट एक ओटा, गैरराज्य पक्षबाट कुटपिट तीन ओटा, धारिलो हतियार प्रहार ओटा, महिला तथा बालिका बलात्कारका आठ ओटा र बलात्कार प्रयासको एक ओटा घटना गरी जिल्लामा ४८ ओटा घटना अभिलेख गरेको इन्सेक प्रतिनिधिले सरोकारवाला समक्ष बताउनु भयो । जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ६ महिनाकै अबधिमा ४८ ओटा घटना भएको इन्सेक प्रतिनिधिले सरोकारवाला समक्ष बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनु भयो । धनकुटामा केही वर्षअघि उजुरी परेको बलात्कार घटनाका आरोपित फरार भएको विषयमा कट्टेलले कानुनले कसैलाई क्षम्य नगर्ने बताउँदै खोजी भइरहेको बताउनु भयो । उहाँले मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सबैले पहल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गर्दा सम्वेदनशीलता अपनाउनुपर्ने बताउनु भयो । समुदायसँग प्रहरी कार्यक्रमले न्याय सम्पादनमा सहजीकरण गरेकाले स्थानीय तहले यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।  समीक्षा कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य बालानन्द भुर्तेलले इन्सेकले अबका दिनमा स्थानीय तहसम्म पुगेर स्थानीय तहमा भएका तथ्याङ्क सङ्कलन गरे अझै मानव अधिकारको अवस्थाका विषयमा जानकारी हुने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिबृद्धि गर्ने बताउनु भयो । हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भुजेलले प्रतिवेदनमा महिला हिंसाका घटना बढेको बताउनु हुँदै हरेक वर्ष तीनै तहको सरकारले महिला हिंसा न्यूनीकरणमा छुट्याएको बजेट कता जान्छ भनेर खोज्ने बेला आएको बताउनु भयो । समीक्षा कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

ईश्वर थापा