आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गर्नु पर्नेमा जोड
बर्दिया । २०७८ पुस ९ गते
इन्सेकले पुस ९ गते गुलरियामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरूले आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनका घटना अभिलेखमा जोड दिनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानव अधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोही अनुसार काम गर्दै आएको उल्लेख गर्नु भयो ।
इन्सेकले आफ्नो स्थापनाकाल देखि नै मानव अधिकारको सवालमा महत्वपूर्ण कार्य गर्दै आएको र समय अनुसार सामान्य लाग्ने तर ती कुराले मानिसलाई मानिस भएर बाँच्नलाई अवरोध गरिरहेको विषयलाई पनि इन्सेकले गम्भिरतापुर्वक उठाउन प्रमुख जिल्ला अधिकारी सुनारले आग्रह गर्नु भयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी इश्वर कार्कीले प्रहरी जहिले पीडितको पक्षमा प्रेसरमा नरही स्वतन्त्र रूपमा काम गर्दै आएको बताउनु भयो ।
नेपाल प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकोले कोही कसैको दबाब र प्रभाव भन्दा माथि उठेर काम गर्दै आएको बताउँदै उहाँले सामाजिक मुद्दा सम्बोधन र न्यूनिकरण गर्न धेरै समय लाग्न सक्ने तर यसका लागि सबै सरोकारवालाको साथ र ससहयोेग हुनुपर्ने उल्लेख गर्नु भययो । एसपी कार्कीले बर्दिया जिल्लामा आत्महत्याका घटना स्वास्थ्य समस्याका रुपमा रहेको बताउनु भयो । सो समस्या आर्थिक सामाजिक, सांस्कृतिक धरातलको अवस्थाले काम गरेको हुन सक्ने बताउँँदै यसलाई हटाउन राज्य र गैरसरकारी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानहादुर चौधरीले सन २०२१ जनवरीदेखि डिसेम्बरसम्म बर्दिया जिल्लामा सङ्कलन गरिएका घटना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा बालबालिका बलात्कार तथा यौन दुर्व्यवहारका ३५, महिला बलात्कारका १८, बालविवाहका तीन, बहुविवाहका १५, जातीय भेदभावका दुई, ‘बोक्सी’को आरोपका दुईलगायत ८१ ओटा ररहेका छन् ।
अनलाइन डेस्क