आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ असार १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १६ गते क्षिरेश्वरनाथ नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाले उपलब्ध गराउने सेवाको अवस्था र सेवाग्राहीको आवश्यकतासम्बन्धी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा वक्ताहरूले नगरपालिकाले दिँदै आएको सेवा सुविधामा सर्वसाधारण जनताहरूको उत्साहजनक सहभागिता हुनुपर्नेमा जोड दिनु भयो ।
क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले नगरपालिकालाई केन्द्र सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट शिक्षा क्षेत्रमा पाठ्यपुस्तक वितरण, विद्यार्थीहरूका लागि पोशाक वितरण, छात्रा तथा दलित विद्यार्थीहरूका लागि भत्ता, खाजा लगायतका कार्यक्रम गर्दै आएको बताउनु भयो । चालु आर्थिक वर्षमा तीन ओटा वडामा आधारभूत स्वास्थ्य सेवाका लागि भवन निर्माण गर्दै आएको, सामाजिक सुरक्षा भत्ताहरू प्रत्येक वडामार्फत समयमै निकासा गरिँदै आएको र कोभिड सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेध आदेशले आर्थिक समस्यामा परेका केही गरिब, दलित समुदायका व्यक्तिलाई विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा दाल, चामल, कपडालगायत पौष्टिक आहार वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।
यसका अतिरिक्त सर्वसाधारणले माग गरे अनुसार सांस्कृतिक अधिकारका लागि धर्म तथा संस्कृति झल्किने धरोहरहरूको संरक्षण तथा सम्बद्र्धनका लागि प्रत्येक वर्ष रकम विनियोजित गरी सोही अनुसार धार्मिक मठमन्दिर, सार्वजानिक स्थल, पार्क तथा सार्वजानिक दलानहरू निर्माण गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो । इन्सेकले क्षिरेश्वरनाथ नगरपालिकाले प्रदान गर्दै आएको सेवा सुविधा र सेवाग्राहीको आवश्यकताबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा वहाँले धन्यवाद समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका–५ का वडा सचिव गङ्गाई महतोले वडामा आउने सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा भत्तादेखि मालपोत, सिफारिस तथा जन्मदर्ता, मृत्युदर्ता लगायतका अभिलेखिकरण र सिफारिस दिदै आएको बताउनु भयो । क्षिरेश्वरनाथ नगरपालिकाका आर्थिक लेखा प्रमुख यज्ञनिधि अधिकारीले नगरपालिकाले कोभिडका कारण नगरपालिका भित्र मृत्युवरण गरेका परिवारलाई क्षतिपूर्ति बापत ५० हजार रुपियाँको दरले सहयोग गर्ने लगायतका कार्यक्रम गर्दै आएको बताउनु भयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष शोभा भण्डारीले कोभिडको कारणले गर्दा यहाँका सर्वसाधारणको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा नगरपालिकाले प्रदान गर्दै आएको सेवा सुविधा छिटो छरितो हुनु पर्नेमा जोड दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह