आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७९ असार १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा गाउँपालिकाका भूमि फोकल पर्सन ऋषि काफ्लेले गाउँपालिकामा खरको छानो विस्थापन कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो । उहाँले गाउँपालिकाले आवासको सुरक्षण संगै भूमिको व्यवस्थापनमा विभिन्न कामहरु गरिरहेको जानकारी दिनु भयो । उहाँले चार हजार भन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितहरुको तथ्याङ्क सङ्कलन भएको जानकारी गराउनु भयो । कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले भूमिसम्बन्धी समस्या सामाधानको लागि गरिरहेको कामहरुको बारेमा जिज्ञासा राखेका थिए । विनयी त्रिवेणी गाउँपालिकाको बजार क्षेत्रमा रहेको आवासविहिन परिवारको लागि आवासको व्यवस्थापन गर्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले आवासको अधिकार मैलिक हकको रुपमा संविधानमा व्यवस्था भएको भन्दै अधिकारको कार्यान्वयनमा स्थानीय सरकारसंगै सरोकारवालाहरु सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । उहाँले मौलिक हकको रुपमा व्यवस्था भएको आवास र खाद्यको अधिकारसंग भूमि सम्बन्धि अधिकार प्रत्यक्ष जोडिने भन्दै गाउँपालिकाले गरिरहेको कार्यहरुको बारेमा जानकारी गराएकोमा फोकल पर्सन काफ्लेलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मानव अधिकार समूह विनयी त्रिवणीका सदस्य तेज प्रसाद कोइरालाले इन्सेकले मानव अधिकार समूह गठन गरेर गाउँपालिका भित्र मानव अधिकार संरक्षणमा कार्य गर्दै आएको बताउनु भयो ।
अनलाइन डेस्क