आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिरहा । २०७८ असार १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १५ गते सखुवानान्कारकट्टी गाउँपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत असार १५ गते आयोजित आवासको अधिकार विषय अन्तरक्रियामा कार्यक्रममा सहभागी सखुवानान्कारकट्टी गाउँपालिका–४ की भगवती मण्डलले जसको घर छ उसैलाई घर बनाइ दिएको र घर नहुनेहरू आवासको अधिकारबाट वञ्चित भएको आरोप लगाउनु भयो ।
वडा नं. ५ की दशनीदेवी सदाले आफ्नो घर नहुँदा पनि आफूले जनता अवास कार्यक्रम अन्तर्गत घर नपाएको र पटकपटक गाउँपालिकामा धाउँदा पनि कसैले वास्ता नगरेको दुःखेसो पोख्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराउनु भयो । वडा नं. १ की उषा कर्णले वर्षातको समयमा घरभित्र पानी पसेर समस्या हुने र घर मर्मतका लागि आर्थिक अवस्था कमजोर भएकाले पानीको निकासका लागि गाउँपालिका तथा वडा कार्यालयले चासो देखाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले राजनीतिक आस्थाको आधारमा वास्तविक दलित परिवारले आवास नपाएको बताउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमलादेवी यादवले गाउँपालिकामा दलित गरिबहरूको जनसङ्ख्या धेरै रहेको र गाउँपालिकाको श्रोत साधनले मात्रै सबैलाई घर बनाइ दिन तत्कालै नसकिने बताउनु भयो । प्रदेश सांसदहरूलाई यहाँको आवासको अधिकारका समस्या अवगत गराएर श्रोत जुटाइ दिन इन्सेक प्रदेश कार्यालयलाई वहाँले आग्रह गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालयका प्रमुख बिरबहादुर बुढा मगरले मानव अधिकारको अवधारणाले सबैलाई समान व्यवहार गर्ने भएकाले कसैलाई पनि विभेद तथा अधिकारबाट वञ्चित गर्न नपाउने बताउनु भयो । आवास नहुने र आफैँ बनाउन नसक्ने दलित, गरिबहरूको लागि राज्य, स्थानीय सरकारले आवासको व्यवस्था गर्नु पर्ने बुढा मगरले जोड दिनु भयो ।
सखुवानान्कारकट्टी गाउँपालिका–३ का वडा अध्यक्ष महेन्द्र यादवले दलित गरिबहरूको सङ्ख्या धेरै भएकाले एकैपटक सबैलाई घर बनाउन नसकिने भएकाले प्रदेश सांसदहरूलाई आग्रह गरे पनि सहयोग नपाएको बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिनारायण चौधरीले वडा नं. १ र ५ मा स्वास्थ्य चौकीको आफ्नै भवन भए पनि अन्य वडामा आफ्नो जग्गा र भवन नभएकाले स्वास्थ्य सेवा सञ्चालनमा समस्या भएको बताउनु भयो । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्याहरू पहिचान गरी समाधानको लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निगरानी समूहलाई आग्रह गर्नु भयो ।
दुर्गा परियार