आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सिरहा । २०७८ असार १९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १८ गते विष्णुपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वडा नं. ४ का रुपेशकुमार मल्लिकले प्रदेश सरकारले वडामा ११ घर डोमहरूको लागि आवास निर्माण गर्ने निर्णय अनुसार ०७७ कात्तिकदेखि घर बनाउन सुरु गरेपनि अहिलेसम्म पनि झ्याल, ढोका र छाना नलगाउँदा चिसो र वर्षामा बस्नु परेको दुःखेसो पोख्नु भयो । उहाँले भन्नु भयो–“ठेकेदारलाई भन्दा बनाइ दिन्छु भन्छ । वडा अध्यक्षलाई भन्दा प्रदेशको कार्यक्रम हो भनेर टार्ने काम भएको छ ।”
वडा नं. ३ की रामकली महराले जनता आवास दलितको लागि सुनेपनि अहिलेसम्म कसैले नबनाइ दिएको बताउनु भयो । गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिंहले जनता आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा डोम समुदायको घर बनाएको बताउनु भयो । अगामी आर्थिक वर्षमा सबै वडामा ५० ओटा घर बनाउने लक्ष्य भएको उपाध्यक्ष सिहंले बताउनु भयो । गाउँपालिकामा दलित समुदायको जनसङ्ख्या बढी रहेको तर स्थानीय तहमा श्रोत साधन कम हुँदा एकै पटक सबैको मागलाई सम्बोधन गर्न नसकिने हुँदा क्रमशः सबैको अधिकारलाई सम्बोधन गरिने उपध्यक्ष सिंहको भनाइ थियो ।
विष्णुपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष राजकुमार यादवले प्रदेश सरकारलाई भनेर जनता आवास कार्यक्रम ल्याइएको भएपनि त्यसको नियन्त्रन प्रदेश सरकारमै भएकोले ठेकदारहरूले स्थानीय तहलाई नटेर्ने गर्दा समयमा काम नभएको बताउनु भयो । वडा नं. २ का वडा अध्यक्ष रामेश्वर यादवले स्थानीय तहलाई अधिकार कागजमा मात्रै भएको र व्यवहारमा नभएकोले गरिव दलितहरूको लागि चाहे अनुसार काम गर्न नसकिएको बताउनु भयो ।
दलितहरूको नागरिकता तथा जग्गा नहुँदा चाहेर पनि आवास बनाउन नसक्दा आफूहरू दुःखी भएको प्रतिकृया वडा अध्यक्ष यादवले दिनु भयो । वडा नं. १ का वडा अध्यक्ष गोपिन्द्र यादवले पहिलो चरणमा डोम समुदायको भवन बनेको र क्रमशः अन्य दलित समुदायको लागि भवन बनाउन प्रदेश सरकारसँग समन्वय गरेको बताउनु भयो । ओरेककी कार्यक्रम अधिकृत देवकुमारी महराले मानव अधिकारको प्रत्याभूति गराउन गाँस, बास र कपास अनिवार्य भएकाले भौतिक विकाससँगै दलितको लागि आवासको निर्माणमा पनि स्थानीय सरकारले जोड दिनु पर्ने बताउनु भयो ।
सञ्चारकर्मी अनिरुद्ध ठाकुरले इन्सेकको परियोजनाले जनतालाई सजग बनाउन मद्दत गरेको र अधिकारको बारेमा जानकारी प्राप्त गरेको बताउनु भयो । जनता जागरुक भए जिम्मेवार निकायमा आफ्नो अधिकारको कुरा राख्न सक्ने हुँदा जिम्मेबार निकाय जबाफदेहिताबाट भाग्न नसक्ने उहाँले बताउनु भयो । जनता आवास कार्यक्रम अन्तर्गत समयमा गुणस्तरीय काम नगर्दा गरिवको झन् विच्चली भएकाले स्थानीय सरकारले चासो लिन सञ्चारकर्मी ठाकुरले आग्रह गर्नु भयो ।
दुर्गा परियार