आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

धनुषा । २०७८ असार २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच असार २१ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा लामा बस्नेतले नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा समस्याहरू भएपनि हामीले त्यस्ता समस्याहरू सम्बोधन गर्न अग्रसर रहेको बताउनु भयो । उहाँले सर्वसाधारणको जीवनस्तर उकास्नका लागि जनता आवास कार्यक्रमअन्तर्गत वडा नं. ३ मा दलितहरूको घर निर्माण कार्य भइरहेको बताउनु भयो । गरिब, दलित, सुकुम्वासीहरूको लागि वडा नं. १ मा ऐलानी जग्गामा ५२ घरपरिवारलाई जग्गा दिएर घर बसाएको उहाँले बताउनु भयो । नगरभित्रका भूमिहीन, सुकुमवासीहरूको पहिचान हुँदै गरेको र गरिब घर परिवारहरूको समेत केन्द्रीय सरकारको आयोजनामा घरधुरी सर्वेक्षण हुँदै आएकाले चाँडै नगरपालिकाबाट आवासको लागि जग्गा उपलब्ध गराउने योजना रहेको उपप्रमुख लामाले बताउनु भयो । वडा नं. १ का वडा अध्यक्ष लक्ष्मी महतोले आफ्नो वडामा रहेको भुमिहीन किसानहरूको करिव ४ विगहा नदि उकास जग्गालाई सदुपयोग गरेर ५२ घरधुरीलाई घर निमार्णमा सहयोग गरेको बताउनु भयो । १५ लाख वडाको बजेटबाट भुमिहीन किसानहरूलाई वस्ती बसाएको र प्रदेश सरकारले वस्तीमा सार्वजनिक दलान निर्माण गरिदिएको र नगरपालिकाबाट खानेपानी र विद्युतलगायतको सेवासुविधा दिएको वहाँले बताउनु भयो ।

मानव अधिकार निगरानी समूह मिथिला नगरपालिकाका अध्यक्ष सिताराम महतोले मिथिला नगरपालिकामा आवाससम्बन्धी जनताहरूको अवस्था सन्तोषजनक नभएको बताउनु भयो । मिथिला नगरपालिकाका अधिकांश जनता मध्यवर्गीय परिवारका रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा नगरपालिका र नेपाल सरकारले अझै लगानी गर्नुपर्ने उहाँले बताउनु भयो । मिथिला नगरपालिकाका समाजसेवी बिणा कडारीले मिथिला नगरपालिकाका अधिकांश घरपरिवारले स्वच्छ खानेपानी समेत खान नपाएको गुनासो गर्नु भयो । उहाँले मिथिला नगरपालिका वडा नं. ७ र ६ लगायतको ठाउँमा जडान गरिएको खोलाको पानीलाई निर्मलीकरण गरी धारामार्फत खानेपानी आपूर्ति भई रहेको भएपनि अहिलेको बाढी पहिरोले पानी धमिलो आएर खानयोग्य नभएको बताउनु भयो । उहाँले यहाँको अधिकांश गरिब, घर परिवारहरू बाँस र काठको सानो सानो झुपडीमा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता भएपनि नगरपालिका र राज्यले लगानी गर्न नसकेको बताउनु भयो ।

स्थानीय ललितादेवी महतोले मिथिला नगरपालिकामा महेन्द्रराजमार्गभन्दा उत्तरपट्टी रहेको वस्तीहरूमा वर्षेनी जंगली हात्तीको प्रवेशले यहाँका जनताहरूको काठ, माटोले बनाइकोा घरमा आक्रमण गरि भत्काउने गरेको बताउनु भयो । गरिव, विपन्न तथा दिनदुःखीहरूको घर पक्की छैनन्, सानो झुपडीमा बसेर जीविकोपार्जन गरी रहँदा वर्षेनी हात्ती आक्रमणले समस्या हुँदै आएको वहाँले बताउनु भयो । वहाँले यहाँका गरिव, विपन्न, दलित, सुकुमवासीहरूलाई पहिचान गरी सहुलियत दरमा रासनपानी, ग्यास र घर निर्माणका लागि नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय महमाया बिक रसाइलीले आफू अहिले सुकुमवासी भएकाले ऐलानी जग्गामा बसोवास गर्दै आएको बताउनु भयो । मिथिला नगरपालिका वडा नं. ७ की सचिव अजिता देवकोटाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा लगानी गर्दै आएको बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह