आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
रौटहत । २०७८ असार १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्थानीय लिलावती माझीले घरमा छाना नभएर आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । घर नभएकाले बालबालिकाहरू वर्षातको समयमा असुरक्षित रहेको तथा बालबालिकाहरूले शिक्षा र स्वास्थ्यका समस्याहरू भोग्नु परेको उहाँको गुनासो छ । स्थानीय नन्दनी माझीले व्यवस्थित घर नभएका कारण सुत्न बस्न कठिन भएको बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले जनता आवास कार्यक्रमलाई पूर्णता दिनुपर्नेमा जोड दिनु भयो । जनता आवास कार्यक्रमले आवासविहीन दलित समुदायको आवासको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्न नसकेतापनि आगामी दिनमा सम्पूर्ण अवासविहीन नागरिकहरूको आवासको अधिकार संरक्षण गर्नमा आफ्नो तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोपिला तिमल्सिना