आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

कालीकोट । २०७८ भदौ २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा  मानव अधिकार समूह शुभकालिकाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ १९ गते सम्पन्न भएको छ । शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले घरको छानो छाउनको लागि खर काट्ने क्रममा कयौं महिलाको ज्यान गइसकेको हुनाले यस वर्ष स्थानीय सरकारको पहलमा ९१ घरको छानामा टिन लगाइएको बताउनु भयो ।

स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत आवासको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार समूहले पटक पटक खरका छाना मुक्त गाउँ बनाउन ध्यान केन्द्रित गराएका कारण नगरपालिकाले छतको छाना फेर्ने कार्य गरेको शाहीले जानकारी दिनु भयो । कार्यक्रममा मानव अधिकार समूह शुभकालिकाका सह–संयोजक सुष्मिता विश्वकर्माले मानव अधिकार समूहले आवास बिहिनलाई आवास र खरमुक्त घरको लागि धेरै पटक मागदावी, ध्यानाकर्षण पत्र बुझाएको बताउनु भयो ।

कार्यक्रममा सहभागिले गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँ, उपाध्यक्ष पम्फा शाहीले शुभकालिकामा खरबाट बनेका घर ४ सय २८ रहेको मध्य आर्थिक वर्ष ०७७/०७८ मा ८८ घर खरमुक्त बनाउने र आफ्नो कार्यकालमा सबै घर टिनको छाना भएका बनाउने प्रतिवद्धता गरेको पनि कार्यक्रममा स्मरण गराएका थिए । समाजसेवि राम सुनारले शुभकालिका गाउँपालिका–४ परिवार टोलमा एउटा घरमा ६ जनाको परिवार बस्नु पर्ने अवस्था रहेको र यस्तो समस्या गाउँपालिका भरी हुनसक्ने भएकाले एसको समाधानका लागि मानव अधिकार समूहले गाउँपालिको ध्यानाकर्षण गराउनु पर्ने औंल्याउनु भयो । साथै पहिरोका कारण गाउँपालिका भित्रका विभिन्न स्थानका नागरिकहरू घरवास विहिन हुनु पर्ने अवस्था रहेको हुनाले स्थानीय सरकाको ध्यान जान जरूरि रहेको सहभागिहरूको भनाइ थियो ।

कालीबहादुर मल्ल