आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट । २०७७ चैत १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम फागुन २९ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत आवासको अधिकार सवालमा रोकारवालाबीच अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरबहादुर बमले वास्तविक भूमिहीनहरूलाई जग्गा दिलाउनका लागि आयोगले काम अगाडी बढाएको जानकारी गराउनु भयो ।
अध्यक्ष बमले यस अघि बनेको आयोग सरकार परिवर्तनसँगै बिघठन हुने क्रमले प्रक्रियागत काम सबै शून्यमा झर्ने भएको कारण काम हुन नसकेको र अहिलेको आयोगमा वर्तमानमा रहेका व्यक्तिहरूलाई हटाइए पनि तत्काल अर्को आयोग बन्ने प्रावधान भएकोले भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने बताउनुभयो । नेपालको संविधानको धारा ३७ मा आवासको अधिकार सम्बन्धी हक भएको जानकारी गराउँदै आवास नहुने र घरवास समेत नहुनेलाई आवासको अधिकार हुनुपर्नेमा अन्तरक्रियाका सहभागिले जोड दिएका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र महतले वन कार्यालयवाट हुने सहयोग आवास बिहिन र आवाससम्बन्धी समस्या परेका जो सुकैलाई पनि कानुन बमोजिम सहयोग गर्ने बताउनु भयो ।
कालीबहादुर मल्ल