आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद सम्पन्न

कञ्चनपुर । २०७८ असोज ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा आवास अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रम असोज ५ गते पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सुकुम्बासी पानमती सुनारले आफूहरु बाटो, बिजुली, खानेपानीलगायतका आधारभूत सुविधा समेत नपुगेको खोलाको किनारमा टहरा निमार्ण गरेर बसिरहेको र सरकारले लालपुर्जा वितरण गर्ने भनेर आबेदन फारम भरेको पनि चार महिना बितिसक्दा समेत लालपुर्जा र पुनस्र्थापना नभएको गुनासो गर्नु भयो ।

सुकुम्बासी समस्या समाधान सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर थापाले नेपाल सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग सरकारले नै बिगटन गर्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै भूमिसम्बन्धी समस्या समाधान आयोगलाई संवैधानिक आयोगको मान्यता नदिदासम्म समस्या समाधान हुन नसक्ने बताउनु भयो । स्थानीय समाजसेवि पुष्पराज हडखलेले पुनर्वास नगरपालिकाका अधिकांश ईटा उद्योगहरु मानवबस्तीकै बीचमा स्थापना गरी सञ्चालन गरिएका कारण स्थानीयहरुको स्वास्थ्यमा समस्या आइरहेकोले स्थानीय तहले तत्काल उद्योगहरुलाई मानवबस्ती नभएको स्थानमा स्थानतरण गर्न आवश्य रहेको बताउनु भयो ।

पुनर्वास नगरपालिकाका प्रतिनिधी ओमनाथ ढकालले पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ मा सुकुम्बासी समस्या समाधानका लागि ७० लाख रुपियाँ बजेट विनियोजन गरेको र नगरपालिकाले सङ्कलन गरेका सुकुम्बासी आबेदन फरामहरु नगरपालिकामा सुरक्षित रहेको बताउनु भयो । उहाँले भूमिसम्बन्धीका कामहरु स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र नपर्ने भएकोले केन्द्रको निर्देशन पर्खिनु पर्ने अवस्था रहेको बताउनु भयो । पुर्नवास नगरपालिका–६ का वडाध्यक्ष मनबहादुर गुरुङ्ले नेपाल सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमबाट निर्मित घरहरुको गुणस्तर न्यून रहेकोले आवासको समस्या समाधान हुन नसक्ने बताउनु भयो । उहाँले पुनर्वास नगरपालिका–६ का २३ जाना आवासविहीन नागरिकहरुका लागि सुरक्षित आवास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

लिली कुँवर