इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल

सप्तरी । २०७९ कात्तिक ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक ३० गते निर्वाचन पूर्वको अवस्था बारे सप्तरीका सिडिओ, एसपी, जिल्ला अनुगमन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत सरोकारवालासँग छलफल गरेको छ । इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल, सिरहाका प्रतिनिधि दुर्गा परियार, कार्यक्रम अधिकृत बरुण बस्यालको टोलीले छलफल गरेको हो । सिडिओ भुपेन्द्र थापाले निर्वाचन पूर्वको सुरक्षा व्यवस्थाबारे जानकारी गराउँदै आचार संहिता उल्लङ्घन रोक्न गरिएको प्रयासबारे बताउनुभयो । राजनैतिक दलहरुले प्रतिबद्धता बमोजिम आचार संहिता पालना नगरेको समेत उहाँले बताउनुभयो । सिमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि विहार प्रान्तको सुपौल जिल्लासँग सुनसरीमा र मधुबनी जिल्ला अधिकारीसँग जयनगरमा नेपाल भारत सिमा जिल्ला समन्वय समितिको छुट्टाछुट्टै छलफल तथा आवश्यक सहयोगको निर्णय गरिएको जानकारी दिनुभयो ।

राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको विशेष व्यवस्था गरिएको बताउनु हुँदै प्रहरी प्रधान कार्यालयबाट थप प्रहरी जनशक्ति आउने क्रम सुरु भएको बताउनु भयो । एसपी अविनारायण काफ्लेले सुरक्षाको दृष्टिकोणबाट मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गिकरण गरिएको र सबै मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । एसपी काफ्लेलेका अनुसार निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात गरेर सुरक्षा प्रबन्धको वर्गिकरण गरिएको छ । ‘एकले अर्को दललाई आचार संहिता उल्लंघन गरेको दोषारोपण गर्दै मौखिक उजुरी दिए पनि लिखित रूपमा उजुरीहरू नआएको बताउनु हुँदै जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आइसकेको बताउनु भयो । जिल्ला अनुगमन समितिका प्रमुख शरणहरी लुइटेलले आचार संहिता उल्लङ्घनको निगरानी, अनुगमन भइरहेको र गुनासोहरु टिपोट गरी समाधानको प्रयास भइरहेको बताउनुभयो ।

मनोहरकुमार पोखरेल