





कालीकोट । २०७८ मङ्सिर १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले मानव अधिकारका विविध विषयलाई लिएर जिल्लाका सरोकारवालाहरूसँग मङ्सिर ७ गते छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यालयकी सुना प्याकुरेल, कर्णाली प्रदश कार्यालयका संयोजक नारायण सुवेदी र जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, खाँडाचक्र नगरपालिका र मानव अधिकार समूहसँग छलफल गरेको हो ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जिल्लामा बालविवाह र बहुविवाह मुख्य समस्याका रूपमा देखिएकाले यसको समाधानको लागि इन्सेकले पनि पहल गर्नु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बालविवाहले महिलाको स्वास्थ्य र शिक्षामा असर पार्ने भएकाले बालविवाह न्यूनीकरण गर्न जरुरी रहेको बताउनु भयो ।
खाँडाचक्र नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवम् प्रवक्ता पुष्पराज गिरीले इन्सेक र मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा विभिन्न समयमा ध्यानाकर्षणपत्र मार्फत उठाएका अवाजले गर्दा नगरपालिकालाई समस्या समाधान तथा नीति योजना कार्यक्रम बनाउन सजिलो भएको बताउनु भयो । उहाँले खरमुक्त छाना, स्वास्थ्य, शिक्षाका सवाल उठान गरेपछि केही परिवर्तन आएको बताउनु भयो ।
खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाँईले कोरोनाका कारण शैक्षिक क्षेत्र तहसनहस भएकाले सुधार ल्याउन इन्सेकले नगरपालिकासँग सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो ।
कालीबहादुर मल्ल