इन्सेकको पहलमा गरिएको उपचारपछि स्वस्थ हुनुभयो उमाकान्त
सप्तरी । २०७७ असोज १६ गते
इन्सेकको पहलमा गरिएको उपचारपछि मानसिक र शारीरिक रूपमा स्वस्थ भएर अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानिपुरका ४९ वर्षीय उमाकान्त चौधरी २० महिनापछि असोज १४ गते साँझ घर फर्कनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा ०७५ मङ्सिर २१ गते उपचारका लागि सहयोग जुटाई दिन पीडित परिवारको अनुरोध शीर्षकमा समाचार प्रकाशन भएपछि तथा इन्सेक प्रतिनिधिकै पहलमा मानव सेवा आश्रमले मङ्सिर २२ गते उद्धार गरी चौधरीलाई उपचारका लागि हेटौँडास्थित आश्रम लगको थियो ।
घर परिवार र समाजमा दुःख दिन थालेको भन्दै २०६३ सालदेखि फलामे साङ्लोमा ताला लगाई बाँधेर राखेपछि मानोसामाजिक रोगी चौधरी थप हिंसात्मक बन्न थालेको पीडितको परिवारले जनाएको थियो ।
उपचार गराउन आर्थिक समस्याका साथै तीन ओटी नाबालक छोरीलाई घरमा छाडेर अन्त जान पनि नसकिने अवस्था रहेको बताउनु भएकी चौधरीकी पत्नी सुशीला र स्थानीय अनिल चौधरीले उद्धार र उपचारको लागि सहयोग मागेपछि इन्सेक प्रतिनिधिले पहल गर्नु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले इन्सेक सप्तरी प्रतिनिधिसँग सम्पर्क गरी आवश्यक उपचार तथा स्याहार आश्रमले गर्ने भन्दै ०७५ मङ्सिर २२ गते उद्धार गरेर हेटौँडास्थित आश्रम लग्नु भएको थियो ।
आश्रमका सचिव सुनम बड्तौला, अभियन्ता नवराज केसी, साधक सन्त लामासहितको टोलीले ०७५ मङसिर २२ गते चौधरीलाई लिएर जाँदा प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रदेश संयोजक राजु पासवान, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल र रासस प्रतिनिधि नानीमैया कटवाल उपस्थित रहनु भएको थियो ।
मानसिक रोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले नियमित उपचार गरेपछि स्वस्थ हुनु भएका चौधरीलाई २० महिनापछि पारिवारिक पुनर्मिलन गराइएको छ ।
मनोसामाजिक रोगी चौधरीको अगाडि पर्न डराउने गाउँले २० महिनापछि स्वस्थ भएर फर्किनु भएका चौधरीको स्वागतका लागि झुम्मिएका थिए ।
जनप्रतिनिधि र स्थानीयबासीले चौधरीलाई माला, अबिर र खादा लगाएर सम्मान पनि गरेका थिए । सोही अवसरमा इन्सेक प्रतिनिधिले मानसिक रोगीहरुको उपचारमा क्रियाशील आश्रमका लागि नगद १० हजार प्रदान गर्नु भयो ।
सम्बन्धित समाचार
उपचारका लागि सहयोग जुटाई दिन पीडित परिवारको अनुरोध
इन्सेकको पहलः १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार
मनोहरकुमार पोखरेल