इन्सेकको संयोजनमा मानव अधिकार दिवस सम्पन्न
सप्तरी । २०७९ मङ्सिर २४ गते
‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ नाराका साथ मङ्सिर २४ गते राजविराजमा इन्सेकको संयोजनमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा विचार गोष्ठी र लैङ्गिक हिंसा सम्बन्धी नाटक प्रदर्शन गरी मानव अधिकार दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले मानवीय मूल्यमाथि आक्रमण हुँदा सबै जना जोखिममा पर्ने भएकाले आफ्नो र अरुको लागि पनि आवाज उठाउन आग्रह गर्नुभयो । कार्यक्रममा एसपी अविनारायण काफ्लेले जिल्लाको अवस्थाबारे अवधारणापत्र प्रस्तुत गर्नुहुँदै विधिको शासन कायम गर्ने प्रावधानलाई प्रहरीले उच्च महत्वका साथ अंगिकार गरेको बताउनु भयो । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले पछिल्ला वर्षमा संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरू आइरहेकोले मानव अधिकारका पक्षमा थप काम गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गरे पनि कार्यान्वयनमा जटिलता रहेकोले हरेक मानवका लागि अपरिहार्य बनेको मानव अधिकारका सवालमा ऐक्यबद्धता जरुरी रहेको बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जालकी उपाध्यक्ष सुधा देवले मानवता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्ने भएकाले सबै खाले हिंसाको अन्त्य हुनु पर्ने बताउनु भयो । प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईले मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्ने र साझा मानवताको भावना विकसित गराउने बताउनु भयो । कार्यक्रममा प्राइम होलीक्रस एकेडेमी राजविराजका विद्यार्थीहरूले लैङ्गिक हिंसा सम्बन्धी नाटक प्रदर्शन गरेको एकेडेमीका संस्थापक तथा सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्माले जानकारी दिनु भयो । इन्सेक प्रतिनिधि एवम् लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिका अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बरख गणका प्रमुख सेनानी दुर्गा बहादूर थापा, सशस्त्र एसपी तिर्थराज पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश बहादूर शाह, सहयोी समाजका रामप्रकाश चौधरी, मानव अधिकार रक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, यौनिक अल्पसंख्यक र बिद्यार्थीहरूको सहभागिता रहेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
मनोहरकुमार पोखरेल
HUMAN RIGHTS NEWS PORTAL






