इन्सेकद्वारा किशोरी आत्मरक्षा अभिमुखीकरण

दैलेख । २०७९ मङ्सि १५ गते

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा दैलेख सदरमुकाम नजिकको रेडक्रस मावि भूर्तीमा बालिकाहरुलाई हुने यौनजन्य हिंसाबाट जोगिने उपाय विषयमा मङ्सिर १४ गते किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ । किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको किशोरी आत्मरक्षा समूहले बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाबाट जोगिने उपाय र सीप बारे नमूना अभ्यास प्रस्तूत गरिएको थियो । किशोरी आत्मरक्षा अभिमुखीकरण जीवन उपयोगी भएको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभयो ।

त्यसबखत जिल्ला प्रहरी कार्यालय दैलेखका महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई सुशीला भूसालले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारी र अक्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता गोपाल नेपालीले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपायका विषयमा प्रकाश पार्नुभएको थियो ।

अमर सुनार