इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

रौतहट । २०७९ वैशाख १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले संविधानको मौलिक हकमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र अवास हकलाई स्थानीय तहले नीति तथा कार्यक्रम मार्फत सुचिश्चित गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले हालको समयमा नागरिकले अधिकार मात्र खोज्ने र कर्तव्य पुरा गर्न नचाहने गरेको उल्लेख गर्नु हुँदै अधिकारसँगै नागरिकले आ–आफ्नो कर्तव्य पनि निर्वाह गर्नु आवश्यक रहेको बताउनु भयो । तराई मधेसमा बसोवास गरिरहेका दलित तथा विपन्न समुदाय अहिले पनि झुपडीमा बसिरहेका कारण शितलहर तथा हावाहुरीमा दुःख तथा कष्टकर जीवन विताउन बाध्य रहेकोले नेपाल सरकारद्वारा सञ्चालनमा आएका जनता आवास कार्यक्रम प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो ।

नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले इन्सेकले गरिरहेको मानव अधिकारसम्बन्धी घटनाहरूको अभिलेखिकरण कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । इन्सेकले पीडित व्यक्तिको न्यायको लागि पहल गर्ने कार्य सराहनीय रहेको वहाँले बताउनु भयो । महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया गुरोले मानव अधिकारको एउटा महत्वपूर्ण अङ्ग भनेको बालविवाह अन्त्य गर्नु रहेको बताउनु भयो । गाउँ घरमा बालविवाह व्याप्त रहेकोले बालविवाह अन्त्यका लागि लागि सबै लग्नु पर्नेमा उहाँले जोड दिनु भयो । श्रीपुर माविका प्रधानाध्यापक रामआधार पासवानले इन्सेकले मानव अधिकारका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको उल्लेख गर्नु हुँदै विद्यालयमा बाल अधिकार चेतना समूह गठन गरेर मानव अधिकारका विषयवस्तुमा जानकारी गराइरहेकोमा धन्यवाद दिनु भयो । मानव अधिकार समूह गरुडाका अध्यक्ष बिसुनदयाल यादवले विगत तीन वर्षदेखि गरुडा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका लागि विभिन्न कार्यक्रममार्फत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्य गरिरहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, खद्य र अवासको अधिकार सुनिश्चित नभएसम्म नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसक्ने उहाँको भनाइ थियो ।

कोपिला तिमल्सिना