








सुनसरी । २०८० असार ३ गते
कोशी प्रदेशकै सबै भन्दा ठूलो कारागार झुम्का कारागारको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार ३ गते कैदीबन्दीको अवस्था अनुगमन गरेको छ । इन्सेक कोशी प्रमुख सोमराज थापा नेतृत्वको टोली १ हजार ६ सय कैदीबन्दीको राख्ने क्षमता भएको झुम्का कारागारको अनुगमन गरेको हो । इन्सेक प्रदेश कार्यालय, विराटनगर कार्यक्रम अधिकृत वागमती कट्टेल, प्रलेख अधिकृत पुण्य अधिकारी, इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदी र सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादव रहनुभएको थियो । कारागारमा कैदीबन्दीहरुलाई के कस्तो समस्या छ ? छालासम्बन्धी समस्या देखिएकाले त्यसको थप संक्रमण हुन नदिनका लागि भएको प्रयास , कैदीबन्दीले समयमा प्राथमिक उपचार पाए नपाएको विषयमा इन्सेकले अनुगमन गरेको छ । कैदीबन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन इन्सेकले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको बेला झुम्का कारागारमा अनुगमन गर्दा अवस्था समान्य पाइएको छ । बैदीबन्दीहरुले आफूहरुलाई खान, बस्न, सुत्न, परिवारसँगको भेटघाटसहित पत्रपत्रिका, रेडियो, टेलीभिजन समेतको व्यवस्था भएको प्रतिक्रिया दिएका छन् । कारागारका जेलरले भीमप्रसाद भट्टराईले इन्सेकको अनुगमनले आफूहरुलाई सचेत गराएको र मानवअधिकारमैत्री व्यवहार कारागारभित्र रहेको बताउनु भयो ।
इन्सेकले जिल्ला प्रहरी कार्यालय, सुनसरीको थुनुवा कक्षको समेत असार ३ गते नै अनुगमन गरेको छ । अनुगमनका क्रममा विगतको भन्दा नयाँ भवनमा सरेको थुनुवा कक्षा निकै सुधार देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा मानवअधिकारमैत्री थुनुवा कक्ष र बन्दीहरुलाई मैत्रीपूर्ण व्यवहार भएको अनुगमनका क्रममा पाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालले थुनुवा कक्षसहित प्रहरीमा निकै सुधार आएको बताउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि नागरिक सहायता गर्ने प्रहरी नै खटाएको, अपवादमा बाहेक पूर्ण रुपमा मानवअधिकारमैत्री व्यवहार गरिएको बताउनु भयो । कारागारलाई यातनागृहबाट सुधार गृह बनाउने सरकारको नीति अनुसार कारागार र हिरासत कक्षको अवस्था के छ भनेर अनुगमन गरिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाको भनाइ छ ।
जयकृष्ण यादव