








सिरहा । २०७८ असार १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, जनकपुरधाम, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय, जनकपुरधाम र नेपाल पत्रकार महासङ्घ प्रदेश २ को संयुक्त टोलीले इन्सेकद्वारा सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव अधिकारको अवस्थाको जानकारी लिन असार १५ गते अनुगमन गरेको छ । सिरहा जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको मूल्य मान्यतालाई स्थापित गराउने उद्देश्यले सिरहा जिल्लामा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको प्रभावकारिता र सिरहा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिएको इन्सेक प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
सखुवानन्कारकट्टी गाउँपालिकामा मानव अधिकार निगरानी समूह गठन पश्चात शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धमा सरोकारवालाहरूबिच छुटाछुट्टै अन्तरक्रिया गरिएको, विद्यालय, स्वास्थ्य चौकी अनुगमन गरिएको निगरानी समूहका संयोजक जगदिश गोसाइले बताउनु भयो । यसैगरी बाल अधिकार चेतना समूह गठन गरी अभिमूखीकरण, वक्तृत्वकला, हाजिरीजबाफ प्रतियोगिता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबिच अन्तरक्रिया कार्यक्रमहरू गरेको बाल अधिकार चेतना समूहका अध्यक्ष दुर्गा यादवले बताउनु भयो ।
सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले इन्सेकको परियोजनाले सचेत बनाएको र मानव अधिकारको प्रत्याभूति समुदायलाई गराउन थप जिम्मेवार बनाएको बताउनु भयो । परियोजना सञ्चालनको अवधिमा गाउँपालिकाको सहयोग रहने र परियोजनालाई निरन्तरता दिन योजना तयार गर्ने अध्यक्ष यादवले बताउनु भयो ।
दुर्गा परियार