इन्सेक कर्णाली प्रदेशद्वारा निर्वाचन सम्बन्धी राउटे समुदाय संग छलफल

दैलेख । २०७९ मङ्सिर १ गते

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पूर्व अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले राउटे समुदायको मतदानप्रतिको चासो र निर्वानच सम्बन्धि विषयमा राउटे समुदाय छलफलका लागि राउटे बस्ती नारायण नगरपालिका–८ सिमाडामा समेत पुगेको थियो । राउटे समुदाय कसैको पनि नागरिकता नबनेको कारण मतदाता नामावीमा समावेश नभएको र त्यहीकारण राउटे समुदाय मतदानबाट बञ्जित भएको त्यहाँ पुगेर जानकारी भयो । बनमा गुना–बाँदर सिकार गर्ने राउटे समुदाय पढ्न लेख्न, नागरिकता बनाउन र खेतीपाती गर्दा सिकार बिग्रिने उनीहरुको बिश्वास छ । धेरै जति दैलेख त्यसको अलवा सुर्खेत र सल्यानको आसपासमै फिरन्ते जीवन बिताइरहेका राउटेहरुले नागरिकता नलिएको भए पनि दैलेखको गुराँस गाउँपालिकाले २०७५ को साउनमा परिचयपत्र वितरण गरेको छ । गुराँस गाउँपालिका वडा नंंं. ८ का स्थानीय बासिन्दा जनाएर दिइएको त्यही परिचयपत्रको आधारमा उनीहरुलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिइदै आएको छ । राउटेहरु जहाँ पुगे पनि गुराँस गाउँपालिकाले राउटेहरु बसेकै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सरकारले २०५८ को जनगणनामा पाँच सय भन्दा कम जनसंख्या भएका जिरेल, चेपांग, कुसुण्डा, राउटे लगायतका १० जातजातिलाई लोपोन्मुख जातिको सूची राखी २०६३ देखि सुरुमा मासिक एक हजारका दरले दिन थालेको सामाजिक सुरक्षा भत्ता अघिल्लो आर्थिक वर्षदेखि प्रतिव्यक्ति हरेक महिना चार हजार पुगेको छ ।

     

यसैबीच मतदान पूर्वको अवस्था छलफलको क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश कार्यालयको टोलीले दैलेखका ११ वटा स्थानीय तहमा नियुक्त निर्वाचन पर्यवेक्षकहरुसंग जिल्लामा आचारसहिंता पालनाको अवस्था, हरेक मतदाताले निर्भयपूर्वक मतदान गर्ने वातारण लगायतको अवस्था र पर्यवेक्षकहरुको तटस्थता विषयमा छलफल भएको थियो । अध्ययन टोलीमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेक कर्णाली प्रदेशका इएलपी फोकल पर्सन दुर्गा थापा, दैलेखमा किशोरी आत्मरक्षा अभियन्ताद्वय सुनिता सुनार, प्रतिमा थापा र इन्सेकका दैलेख प्रतिनिधि अमर सुनारको सहभागिता थियो । यसैगरि भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले निर्वाचनमा सबै मतदाताले सहजै मतदान गर्ने वातावरणका लागि गाउँपालिका जुटेको बताउनुभएको छ । मतदान पूर्वको अवस्था अध्ययनका लागि बेस्तडा पुगेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीलाई कात्तिक ३० गते उहाँले सो कुरा जानकारी गराउनुभएको हो । वडा नंं. ३ को सानतडा पुगियाँ मतदान केन्द्र पुग्ने सडक भर्खरै मर्मतको गरिएको र वडा नं. ६ लक्ष्मी मावि बागडाँडा मतदान केन्द्रमा अन्यन्त्रबाट फर्निचर व्यवस्थापन गरिएको बताउनुभयो ।

  

७ वटा वडा रहेको भगवतीमाई गाउँपालिकामा ११ हजार तीन सय ९१ मतदाताले मतदान गर्न १२ स्थानमा १५ मतदान केन्द्र छन् । एक प्रसंगमा भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना थापाले स्थानीय न्यायिक समितिमा बढीजसो जग्गाको सिमा मिचिएका, कुलो लिन नदिएको, लेनदेनका विवादहरु आउने गरेका र छलफलको माध्यमबाट समाधान गरी पठाउने गरेको बताउनुभयो । फौजदारी मुद्दामा कानूनी प्रक्रिया बताइदिने गरेको उपाध्यक्ष थापाले सुनाउनुभयो । अध्ययन टोलीको जिज्ञासामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले निर्वाचन आयोगको परिपत्र अनुसार ७ वटै वडामा एक–एक जना महिला स्वास्थ्य स्वयमसेविकाहरु खटाई सबै ज्येष्ठ नागरिक र महिलाहरु आफ्नो मत आफै हाल्न सक्ने बनाउन स्पष्ट निर्देशनका साथ खटाइएको बताउनुभयो । जिल्ला स्तरबाट आखैदेख्ने अशक्त बाहेक सबैले आफ्नो मत आफै हाल्न सक्ने बनाउन निर्देशन आए अनुसार भगवतीमाई गाउँपालिका कार्यपालिकाको बैठकबाट मतदाता शिक्षामा खटाइएकाहरुलाई १२ हजारका दरले पारिश्रमिक दिने निर्णय गरी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचन राष्ट्रिय अभियान भएकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भगतवीमाई गाउँपालिकाको तत्परताको निम्ति धन्यवाद दिनुभयो ।

अमर सुनार