इन्सेक गण्डकी प्रदेशको समीक्षा बैठक पोखरामा सम्पन्न

कास्की । २०७९ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा असार ९ र १० गते आयोजित दुई दिने प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक पोखरामा सम्पन्न गरिएको छ । इएलपी तथा कियोस परियोजना सञ्चालित प्रदेशका तीन ओटा जिल्लाका सहजकर्ता र सात जिल्लाका जिल्ला प्रतिनिधिसहितको बैठकमा पछिल्लो तीन वर्षको कार्यक्रम समीक्षाबारे अन्तरक्रिया भएको थियो । अन्तरक्रियाको उद्घाटन सत्रमा बोल्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले तीन वर्ष प्राप्त भएका उपलब्धि, सहजकर्ताको अनुभव तथा कार्यक्रमको उपयोगिताबारे विस्तृत रूपमा समीक्षा गर्न आग्रह गर्नु भयो । इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले इन्सेकको लक्ष्य प्राप्ति र कार्यक्रम सफल बनाउन जिल्ला प्रतिनिधि र सहजकर्ताको महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।

उहाँले गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालित स्थानीय तहमा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा जिम्मेवार निकायलाई जबाफदेही बनाउने गरी कार्यक्रमहरू सम्पन्न भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नु भयो । समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि र सहजकर्ताका बिचमा समूहगत रूपमा सिकाइ, उपलब्धि, चुनौती तथा अवसरका बारेमा छलफल र प्रस्तुति समेत गरिएको थियो । समूहगत छलफलमा इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा प्राप्त उपलब्धि, पीडितलाई न्यायका लागि गरिएका पहलको सूची तयार गरिएको छ । सन् २०२२ जनवरीदेखि जुनसम्मको अवधिमा कास्कीमा ५३ ओटा, पर्वतमा १७ ओटा, गोरखामा १७ ओटा, तनहुँमा ६६, बाग्लुङमा २७ ओटा र म्याग्दीमा १० ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सङ्कलन गरिएको जिल्ला प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

सुशन घिमिरे