इन्सेक गतिविधिहरू नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

रोल्पा । २०८० असार १८ गते

इन्सेक रोल्पाको आयोजनामा नेपाल मानव अधिार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा  असार १५ गते लिवाङमा सम्पन्न भएको छ । जिल्लामा सन् २०२३ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरूबारे सरोकारवालहरूबिच समीक्षा गरिएको हो । जिल्लामा ६ महिनाको अवधिमा २५ वटा घटना अभिलेख गरिएको प्रतिवेदन जिल्ला प्रतिनिधि तिलक घर्ती मगरले प्रस्तुत गर्नु भयो । जसमध्ये सबैभन्दा बढी २१ वटा घरेलु हिंसाका घटना, बलात्कारका दुई र परिवारजनबाट हत्या भएका दुई वटा घटना रहेका छन् । कार्यक्रममा बोल्नुहुदै रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यले जिल्लामा मानव अधिकारसँग सम्बन्धित घटनाहरू थुपै्र हुने गरेको बताउनु भयो । उहाँले स्थानीय तहमा रहेका न्यायिक समितिहरूमा  धेरैजसो घटहरू मिलापत्र हुनुको साथै समुदाय स्तरमै पनि  मिलापत्र हुने भएकाले त्यस्ता घटनाहरूलाई पनि इन्सेकले वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल बार एशोसिएशन, रोल्पाका अध्यक्ष श्रीमन पोख्रेलले समुदाय स्तरमा थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरू हुने गरेको बताउदै उक्त घटनाहरू समेटन सुझाउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तिर्था आचार्यले पुरूष  हिंसामा परेका घटनाको उजुरी नआउने भएकाले  पुरूषहरू पीडित भएका घटना बाहिर आउन नसकेको बताउनु भयो । नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढाले सम्बन्धित निकायमा आइसकेका घटनाहरू भन्दा समुदाय स्तरमा हुने विभिन्न घटनाहरूलाई इन्सेकले अभिलेखिकरण गर्न सक्नुपर्ने धारणा राख्नु भयो ।

तिलक जिएम