इन्सेक गतिविधिहरू मानव अधिकार समूहद्वारा देवचुलीका विद्यालयहरूको अनुगमन

नवलपरासी (सुस्ता पूर्व) । २०८१ जेठ ७ गते

नवलपरासी पूर्वको देवचुली नगरपालिकामा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले देवचुली नगरपालिकामा पर्ने विभिन्न विद्यालयहरूको अवलोकन र अनुगमन गरेको छ । २०८१ जेठ ४ गते  देवचुली नगरपालिका भित्रका विभिन्न आधारभूत र माध्यमिक विद्यालयहरूमा अवलोकन र अनुगमन कार्य अन्तर्गत विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, प्रधानाध्यापक सहित शिक्षकहरुसँग छलफल र अन्तरक्रिया गरिएको छ ।

   

विद्यालय अवलोकन तथा अनुगमनको क्रममा विद्यालयका भइरहेका गतिविधि, शैक्षिक गुणस्तरीयता, दिवा खाजाको गुणस्तरीयता, विपन्न गरिब तथा दलित समुदायको बालबालिकाको छात्रवृत्तिमा पहुँचको अवस्था, पर्याप्त शैक्षिक पूर्वाधार र स्वच्छ तथा सुरक्षित भौतिक पूर्वाधारको अवस्था, स्वच्छ खानेपानी, विद्यालयमा बालबालिकाको नियमित स्वास्थ्य अवस्था र गुणस्तरीय प्याड उपलब्धताको अवस्था, बाल मैत्री वातावरणको अवस्था, बालबालिकामा जातीय विभेदकाे अवस्था, विद्यालयका समस्या, राम्रा पक्ष, सुधारका पक्ष सहित विभिन्न विषयहरूमा छलफल र सुझावहरू समेत आदानप्रदान गरिएको इन्सेक सहजकर्ता राजु चापागाँईले जानकारी दिनुभयो । देवचुली– ७ अन्तर्गत रहेको भिमसेन आदर्श माध्यमिक विद्यालय, देवचुली– ९ अन्तर्गत रहेको कालिका माध्यमिक विद्यालय र मनकामना आधारभुत विद्यालय, देवचुली नगरपालिका अन्तर्गत रहेको पृथ्वी माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालयमा अवलोकन र अनुगमन कार्य सम्पन्न गरिएको हो ।

ज्ञानु पंगेनी