इन्सेक र मानव अधिकार समुहको समन्वयमा बजार अनुगमन सम्पन्न

कैलाली । २०७८ कात्तिक १७ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नगरस्तरीय मानव अधिकार समुहको आयोजना तथा समन्वयमा खाद्य अधिकारको अवस्थाका बारेमा कात्तिक १६ गते चौमाला बजार अनुगमन सम्पन्न भएको छ । तिहारलाई लक्षित गरी बजारमा कालोबजारी र अखाद्य वस्तुको बिक्री–वितरण भइरहेको भनेर उपभोक्ताबाट गुनासो आएपछि  गौरीगगां नगरपालिकासँगको समन्वयमा चौमाला बजारमा रहेका किराना पसल, मिठाइ पसल र सीङ्गार पसलमा अनुगमन गरिएको गैरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहका संयोजक कृष्ण खड्काले बताउनु भयो ।

स्थानीय उपभोक्ता सरिता चौधरीले किराना पसलमा प्याकेजिङ्ग गरिएका खानेकुरा नमकिन, बिस्कुट, मसालालगायतका म्याद नाघेका वस्तुहरु खुला रुपमा बिक्री–वितरण भइरहेको गुनासो गर्नुु भयो । गौरीगंगा नगरपालिकाका कानुन अधिकृत जयन्द्र ठगुन्नाले अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बिस्कुट, नमकिन, मिटमसला, बदाम, बेसन, तेलआदि सङ्कलन गरी नष्ट गरिएको र उपरान्त म्याद नाघेका वस्तु बिक्री–वितरण गरेको पाइएमा स्थानीय कानुन बमोजिम कारवाही गरिने बताउनु भयो ।

तिहारमा कालोबजारी हुँन नदिन प्रत्येक पसलमा मुल्यसूची अनिवार्य राख्नु पर्ने र म्याद नाघेको अखाद्य वस्तुको बिक्री–वितरण नगर्न व्यापारीहरुलाई सचेत गर्ने र उपभोक्ताहरुलाई समेत सचेतना जागाउने कार्य सयुक्त अनुगमन टोलीद्धारा गरिएको इन्सेक जिल्ला सहजकर्ता दिपक नेपालीले बताउनु भयो ।

बजार अनुगमन टोलीमा मानव अधिकार समुहका पदाधिकारी, गौरीगंगा नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय,चौमालाका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र व्यापारीहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी