इन्सेक लुम्बिनी प्रदेशद्वारा निर्वाचन पूर्व अवस्थाका बारेमा अनुगमन

रुपन्देही । २०७९ कात्तिक २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको टोलीले निर्वाचन पूर्वको अवस्था र तयारीका  बारेमा  कात्तिक २८ गते रूपन्देही जिल्लाको अनुगमन गरेको छ। इन्सेकका कार्य समिती सदस्य शोभाखर बुढाथोकी, केन्द्रिय कार्यलयका सम्झा श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख भोला महत, बागमती प्रदेशका कृष्ण गौतम, जिल्ला प्रतिनिधि रीमा बिसी लगायतको टोलीले रुपन्देही जिल्लाका स्थानीय तहहरूमा  भएको तयारीको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरू सँग तथा छलफल गरेको थियो । छलफलका क्रममा प्रमुख निर्वाचन अधिकृत न्यायधीश कृष्णराम कोइराला, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, नेपाली सेनाका कर्णेल दिपेन्द्र न्यौपाने, नागरिक समाजका प्रतिनिधिहरू, कानुन व्यवसायी, सञ्चारकर्मीहरू र मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मतदाताको सङ्ख्याको हिसावले रुपन्देही जिल्ला लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो जिल्ला भएको र मतदाता सङ्ख्या ६ लाख ३८ हजार ९ सय ५२ भएको, निर्वाचनकामा म्यादी प्रहरी,नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी गरी जम्मा ४ हजार ८ सय ३० जना सुरक्षाकर्मी र ८ हजार भन्दा बढी कर्मचारीहरू खटाइएको बताउनु भयो । यसैगरी, निर्वाचनका सम्पूर्ण तयारी, मतदान केन्द्रको व्यवस्था, सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्थापन, कर्मचारीलाई तालिम र मतदान केन्द्रमा सामाग्रीहरु पठाउनका लागि तयारी अवस्थामा राखिएको  निर्वाचन आचार संहिता अनुगमन र मतदाता शिक्षा निरन्तर भइरहेको प्रजिअ पाण्डेले बताउनु भयो । यस्तै, जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरू विगतको तुलनामा सुधार भएको र केही छिटफुट घटनाहरू भएको अधिकांश गठबन्धनका दलहरूको निर्वाचन चिन्ह अंकित चकलेट बाँडेको, बालबालिकाको प्रयोग, पोष्टर पम्प्लेट टाँस गरेको, भोज भतेर गरेको लगायतका सूचनाहरू आएको पाण्डेले बताउनु भयो । 

कार्यक्रममा बोल्दै इन्सेकका कार्यसमिती सदस्य शोभाखर बुढाथोकीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित बनाउनकालागि सबैको महत्व भएको भन्दै नागरिकले आफूले रोजेको दललाई ढुक्क तरिकाले मत दिने वातावरण बनाउन  प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । स्वतन्त्ररुपमा मताधिकारको प्रयोग गर्ने वातावरणको लागी नागरिक समाज, अधिकारकर्मी र पत्रकारहरूले जहिले पनि सम्बन्धित पक्षलाई घचघच्यानु पर्ने बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले निर्वाचनलाई निष्पक्ष बनाउनकालागि इन्सेकले खेलेको भूमिका निर्वाचन पर्यवेक्षणका विषयमा जानकारी गराउदै सरोकारवालाहरूको थप सल्लाह तथा सुझावहरु आवश्यक रहेको वताउनु भयो । अनुगमनको क्रममा निर्वाचनको पुर्व अवस्था अनुगमनको क्रममा अनुगमन टोलीले रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत माननीय न्यायधिश कृष्णराम कोइरालाको कार्यकक्षमा भेटी निर्वाचनको आचार संहिता पालना र सुरक्षाको अवस्थाको बारेमा जानकारी लिएको  थियो । छलफलका क्रममा न्यायधीश कोइरालाले निर्वाचनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको । निर्वाचनका तीन वटै चरणका कामको लागि आफूहरू तयारी अवस्थामा भएको, अघिल्ला निर्वाचनको सिकाइलाई सुधार गरेर अगाडी बढेको बताउनु भयो । अनुगमनका क्रममा राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घन नगर्ने गरी आचार संहिता बनाए पनि आचार संहिता उल्लङ्घनका  छिटफुट घटनाहरू भएको,  निर्वाचन अंकित चकलेट बाँडने, पम्प्लेट टाँस्ने, प्रत्येक वडामा वडा कार्यालय र सम्पर्क कार्यालय खोल्ने,खेलकुदको नाममा पुरस्कार वितरण गर्ने, बालबालिकालाई झण्डा बोकाएर हिडाउने, नचाउने, डिजे बजाउने, प्रचार प्रसारमा भारतीय नम्बर प्लेटको गाडीको प्रयोग, भोज भतेर गरेको पाइयो । गैरसरकारी संस्था महाङ्घका केन्द्रिय सदस्य गोविन्दप्रसाद रेग्मीले मतदानको अवस्थादेखि मतगणनाको अवस्थासम्मको वतावरणलाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । यौनिक तथा लैगिंक अल्प सङ्ख्यक अधिकारकर्मी आनिक रानाले अहिले पनि आफ्नो समुदायले मान्छेको अनुभूति गर्न नपाएको र मतदान केन्द्रमा पनि आफूहरूलाई किनारा लगाइएकोले भयरहित वातावरणमा मतदानको अधिकार सुनिश्चित गराइ दिन आग्रह गर्नुभयो । अनुगमन टोलीले रूपन्देहीका मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाईका मतदाता र नागरिक अगुवाहरूसँग पनि छलफल गरेको छ । छलफलका क्रममा अधिकारकर्मी जगन्यनाथ कुर्मीले विगतका तुलनामा निर्वाचन आचार संहिता पालना भएको र केही छिटफुट घटनाहरू भएको बताउनु भयो ।

रीमा बिसी