इन्सेक लुम्बिनी प्रदेशद्वारा निर्वाचन पूर्व अवस्था बारे अनुगमन तथा सरोकारवालाहरूसँग छलफल
कपिलवस्तु । २०७९ कात्तिक ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको टोलीले निर्वाचन पूर्व अवस्था र तयारीका बारेमा कात्तिक २९ गते कपिलवस्तु जिल्लामा अनुगमन गरेको छ । इन्सेक कार्य समिती सदस्य शोभाखर बुढाथोकी, इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधि कृष्ण गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत , जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मी लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानहरूमा भएको तयारीको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरूसँग छलफल गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख मोहनबहादुर कुवर , जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेत, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन वली , निर्वाचन आचार संहिता अनुगमन अधिकृत भिमार्जुन ज्ञवाली , जिल्ला निर्वाचन अधिकारी राजिव पन्थी , पत्रकार , पर्यवेक्षकहरू र मतदाताहरूसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा मतदाता सङ्ख्या ३ लाख ७२ हजार २ सय ३२ जना रहेको बताउनु भयो । निर्वाचनमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान , सशस्त्र प्रहरी , नेपाली सेना, म्यादी प्रहरी तथा कर्मचारीहरू खटाइएको छ । स्वच्छ , निष्पक्ष र भयरहित वतावरणमा निर्वाचन सम्पन्न गर्नका लागि चाहिने सुरक्षाकर्मीको व्यवस्था गरिनुका साथै ४४ वटा मोवाइल टोलीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।
मदिरा , भोज भतेर लगायतका बिषयहरू प्रति प्रहरी प्रशासन सचेत छ । सिमानाका क्षेत्रमा बाक्लो सुरक्षा परिचालन गरिएको छ । यस्तै जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरू विगतको तुलनामा सुधार देखिए पनि अनुगमनका क्रममा राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घन नगर्ने गरी आचार संहिता बनाए पनि केही छिटफुट घटनाहरू मध्ये भारतीय गाडीको प्रयोग , पोष्टर पम्प्लेट टाँस गरेको, निर्वाचन आचार संहिता विपरित ठुला व्यानर , सरकारी कार्यालयमा पोष्टर लगाउने , माइकिंग , डिजे साउण्ड , बिभिन्न सांस्कृतिक नाचगान गरेको लगायतका सूचनाहरू आएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । निर्वाचन आचार संहिता अनुगमन अधिकृत भिर्माजुन ज्ञवालीले अनुगमनलाई निरतरता दिइएको बताउनु भयो । अनुगमनका क्रममा केही आचार संहिता उल्लङ्घन भएका बिषयलाई नियन्त्रणमा ल्याइएको छ । प्रचार प्रसार क्रममा भेटिएका चार वटा भारतीय गाडीलाई नियन्त्रणमा लिएको अचार संहिता उल्लङ्घन गरेको भन्दै एक उजुरी परेकाले उक्त बिषयमा छानबिन भइरहेको ज्ञवालीले बताउनु भयो । यसैगरी जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले निर्वाचनकालागि आवश्यक मतदाता शिक्षा सामाग्रीहरू प्रत्येक स्थानिय तहबाट बितरण भएको बताउनु भयो । मतदान तयारीको अवस्थामा सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयमा ७१ प्रकारका सम्पुर्ण सामाग्रीहरु पठाउने तयारी भैरहेको बताउनु भयो ।
सरोकारवालाहरू सँगको छलफलमा इन्सेक केन्द्रिय कार्य समिती सदस्य शोभाखर बुढाथोकीले मङ्सिर ४ गते हुन गइरहेको निर्वाचन प्रकृया कसरी अगाडि बढेको छ ? भयरहित , स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्न सुरक्षा निकाय , निर्वाचन कार्यालय र समग्र तयारीको अवस्था के छ ? प्रचार प्रसारका क्रममा आचार संहिताको के कति पालना भइरहेको छ । भन्ने बिषयमा बुझ्न इन्सेकले देशका विभिन्न जिल्लाहरूमा अनुगमन गरिरहेको बताउनु भयो । बुढाथोकीले मतदाताहरू मतदान केन्द्रमा गई ढुक्कसँग मतदान दिन सक्ने नागरिकको नैसर्गिक अधिकार भएले कुनैपनि नागरिक आफ्नो मतदान गर्ने अधिकारबाट वञ्चित हुन नहुने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनकालागि इन्सेकले खेलेको भूमिका निर्वाचन पर्यवेक्षणका विषयमा जानकारी गराउदै सरोकारवालाहरूको थप सल्लाह तथा सुझावहरु आवश्यक रहेको वताउनु भयो । स्वतन्त्ररुपमा मताधिकारको प्रयोग गर्ने वतावरणको लागि नागरिक समाज, अधिकारकर्मी र पत्रकारहरूले जहिले पनि सम्बन्धित पक्षलाई घचघच्यानु पर्ने संयोजक महतले बताउनु भयो । मधेश माहुरी होम कपिलवस्तुका बरिष्ठ मानव अधिकारकर्मी रामदयाल ठाकुरले मतदानको अवस्थादेखि मतगणनाको अवस्थासम्मको वतावरणलाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । अनुगमन टोलीले कपिलवस्तु नगपालिका , मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका– १ वग्दीका मतदाता र नागरिक अगुवाहरूसँग समेत छलफल गरेको छ । छलफलका क्रममा कपिलवस्तु मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बिभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आचासंहिता पालना नगरेको पाइएको बताउनु भयो ।
पार्वती आचार्य