








बाँके । २०७७ असोज २० गते
बाँकेको बैजनाथ गाउँपालिकामा एम्बुलेन्स अभावका कारण सुत्केरी महिलाहरूलाई अस्पताल सम्म पुर्याउन समस्या भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समुहको आयोजनामा असोज १८ गते भएको स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाहरूको सँगको बैठकमा उक्त कुरा बताएका हुन ।
नौबस्ता स्वास्थ्य चौकीकी स्टाफ नर्स नन्दा नेपालीले गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएकोले सुत्केरीहरूलाई अस्पतालसम्म पुर्याउन समस्या भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा एउटा एम्बुलेन्स छ फोन गरेर बोलायो एक घण्टा ढिलो आउने गर्छ त्यसले गर्दा सुत्केरीहरू समयमा उपचार नपाउने र जोखिममा पर्ने गरेका छन् । नेपालीले आमाहरूको लागि आइरन र क्याल्सीयम चक्की पर्याप्त मात्रामा नभएकोले आमा र बच्चा दुबै जोखिममा परेको बताउनु भयो ।
बैजनाथ गाउँपालिका – ३ का वडाध्यक्ष रामचरण थारूले जनताहरूको सेवाको लागि मापदण्ड अनुसारको स्वास्थ्य चौकी निमार्ण भइरहेको बताउनु भयो । उहाँले एम्बुलेन्स खरिदका लागि पनि गाउँपालिकामा पहल गरिने बताउनु भयो । नौवस्ता स्वास्थ्य चौकी इन्चार्ज प्रेम शाहले पर्याप्त मात्रामा भौतिक पुर्वधारहरू नहुदाँ स्वास्थ्य सामाग्रीहरू सुरक्षित तरिकाले राख्नमा समस्या भएको बताउनु भयो । उहाँले वर्थिङ सेन्टरको लागि ६ सय वाटको सोलार जडान गरेको बताउँदै आफुबाट हुने काममा समस्या भए बताउन आग्रह समेत गर्नुभयो ।मानव अधिकार समुह वैजनाथका संयोजक भागिलाल विकले कार्यक्रममा उठेका विषयहरुलाई गाउँपालिकासम्म पुर्याउने बताउनु भयो ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज