ऐन कार्यान्वयनमा शङ्का छः बेपत्ताका परिवार

दाङ । २०८१ भदौ १५ गते

दाङका बेपत्ता पारिएका नागरिकका परिवारहरूले सरकारले ल्याएको सङ्क्रमणकालीन न्याय सम्वन्धी ऐन २०७९ (तेस्रो संशोधन) कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरेका छन् । १४ औँ बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्वपीडित सञ्जाल दाङ, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ०८१ भदौ १४ गते घोराहीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बेपत्ता नागरिकका परिवारहरूले सरकारले संशोधन ऐन ल्याए पनि कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरेका हुन् ।

यस्ता कानुन पटक पटक आएका छन्, तर १६/१७ वर्षसम्म पीडितका पक्षमा केही भएन पति बेपत्ता पारिका नागरिकका परिवार घोराही उपमहानगरपालिका–१७ की चुमा आचार्यले भन्नुभयो– ‘अहिले पनि के के आयो भन्छन मलाई त विश्वास छैन । सरकारले केही गर्ला भन्ने ?’ यसअघि पनि आयोगहरू बनेको तर जागिरमात्रै खाएको आरोप लगाउँदै पीडितहरूले न्याय पाइएला भन्नेमा शङ्का व्यक्त गरे ।

   

तर ऐन कार्यान्वयन छिटो भन्दा छिटो गर्न दवाव सिर्जना गर्नुपर्ने द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले बताउनु भयो । केही हुन्छ कि भनेर ऐनको स्वागत समेत गरेको भन्दै उहाँले छिटो भन्दा छिटो आयोगहरु गठन गर्नुपर्नेमा जोड दिनुभयो । फेरि राजनीतिक भागवण्डामा आयोग गठन गर्ने अवस्था आए ऐन देखाउने दाँतमात्रै हुने उहाँको भनाइ छ । तर सबै सरोकारवालहरू ऐन कार्यान्वयनमा दबाब सिर्जना गर्नुपर्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताउनु भयो । उहाँले स्थानीय तहमा निर्माण हुने इकाइहरूमा पीडितहरूको सहभागिता सुनिश्चित गर्न सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले लामो समयसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको स्मरण गर्दै पीडितहरूको आवाज वुलन्द गर्न पत्रकार र सञ्चारमाध्यमहरूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले ऐन आउँदैमा कार्यान्वयन हुन्छ भन्ने ग्यारेन्टी नभएको उल्लेख गर्दै खबरदारी जरुरी रहेको बताउनु भयो । नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा द्वन्द्वपीडितहरू लक्ष्मी चौधरी, चुमा आचार्य, मसुरी चौधरीलगायतले बोल्नु भएको थियो । कार्यक्रमको स्वागत तथा विषय प्रवेश अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधिले गराउनु भएको थियो ।

जयनारायण पुन