काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाग्लुङ । २०७८ कात्तिक १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापती शर्माले गाउँपालिकाले महिला स्वास्थ्य कार्यक्रम अन्तरगत सुत्केरी महिलाकाे लागि एक प्याकेट नुन र एक क्यारेट अण्डा प्रदान गर्ने गरेकाे र विद्यालयमा सेनेटरी प्याडकाे व्यवस्थापन गरेकाे बताउनुभयाे ।

फाेहेरले मानिसकाे स्वास्थ्यमा हुने असर न्यूनिकरण गर्न महिला स्वास्थ्य स्वंयमसेविकालाई परिचालन गरेर पछिल्लो समय गाउँ गाउँमा फोहोर व्यवस्थापनसम्बन्धी सचेतना जगाउन थालिएको उहाँले बताउनुभएको थियो । उहाँले आफ्नो मात्र नभएर गाउँ टोलको सरसफाई, करेसाबारी व्यवस्थापन, जुठेल्लो व्यवस्थापन, मलखाद व्यवस्थापनको बारेमा सचेत गराइ यसले स्वास्थ्यमा पर्ने प्रभावको बारेमा बताउनुभएको थियो । गाउँपालिका स्वास्थ्य व्यवस्थापन समितीका सदस्य ऋषिराम शर्माले स्वास्थ्य चौकीमा माग अनुरुपका औषधिहरु उपलब्ध नरहेको बताउदै यसले बिरामीहरुले पाउनु पर्ने स्वास्थ्य सेवामा समस्या रहेको बताउनुभयो । उहाँले हाल स्वास्थ्य चौकीहरुको भौतिक संरचना निमार्ण भइरहेको र सो भवन निर्माण भएपछि आवश्यकता अनुसार सुविधा दिनसक्ने बताउनुभयो ।

स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी व्यवस्थापनको लागि गाउँपालिकाले पहल गरिरहेको उहाँले  बताउनुभयो । भिमपोखरी स्वास्थ्य चौकीका अनमि विद्या लक्ष्मी शर्माले स्वास्थ्य चौकीमा बालबालिकाहरुको लागि औषधि अभाव हुने गरेको बताउदै सो को लागि सरोकारबालाले आवश्यक पहल गरिदिन अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरूले गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा प्रभाव परेको बताएका थिए । गाउँपालिकाले टोलटोलमा रहेका आमा र महिला समूहहरूलाई स्वास्थ्य सचेतनासम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने सहभागीहरूले माग गरेका थिए ।

सिर्जना पन्त