कानुनको कार्यान्वयन फितलो हुँदा हिंसाका घटना बढे : प्रदेश सभा सदस्य राना
बाग्लुङ । २०७७ मङ्सिर २० गते
गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले विभेद र हिंसाको अन्त्यको लागि सरोकारवालाहरू प्रतिबद्ध रहनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा बागलुङ जिल्लामा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा गरिएको जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सभा सदस्य रानाले हिंसा न्यूनीकरणको लागि कानुन पर्याप्त भएपनि कार्यान्वयनमा चुनौती देखिएको भन्दै कानुन पालना गर्न र गराउनको लागि अभियान्ताहरू सचेत र जागरूक बन्नुपर्ने बताउनुभयो । उहाँले घर भित्र छोरा र छोरीकोबिचमा गरिने विभेदको अन्त्य गर्नसके दिर्घकालिन रूपमा समाजमा हुने लैङ्िगक हिंसाका घटनाहरू कम हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो–‘कोभिड–१९ महामारीकोबिचमा महिलाहरू पीडामा परेपनि खुल्न नसकेकोले सहज वातावरण तयार गर्नको लागि स्थानीय सरकार, प्रहरी, प्रशासन र स्वास्थ्य संस्थाहरूले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा बागलुङ कार्यालय सदस्य लालबहादुर थापाले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा मात्र नभएर सरकार, राजनीतिक दल र सबै सरोकारवाला गम्भीर भएर वर्षभरी लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारको क्षमता अनुसार कोभिड–१९ रोकथाम र व्यवस्थापनमा लागेको भन्दै थापाले जनस्तरबाट पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङका नासु तेजराज गौतमले लैङ्गिक मैत्री सेवा प्रवाहसँगै महिला, बालबालिका र अपाङ्गताका विषयमा आफूहरू सधै सम्वेदनशिल रहेको बताउनुभएको थियो । उहाँले कोभिड–१९ रोकथाम तथा व्यवस्थापन र कोराना महामारीको समयमा आइसोलेशन, क्वारेण्टाइनमा बसेकाहरू र अग्रपंतिमा खटिनेहरू हिंसामा नपरून भनेर आफूहरू सचेत रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी लोकेन्द्र श्रेष्ठले लकडाउनको समयमा पारिवारिक वेमेलका कारणले धेरै महिलाहरू हिंसामा परेको बताउनुभएको थियो । उहाँले कोभिड–१९ सङ्क्रमण हुने डर त्रासले गर्दा विभेद र हिंसामा परेपनि प्रहरीकोमा आएर उजुरी दिनेहरूको संख्या भने न्यून रहेको बताउनुभयो । कार्यक्रममा धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र वि.पोख्रेलले कोभिड–१९ सङ्क्रमणको डरले नियमित चेकजाँचको लागि स्वास्थ्य संस्था नआउँदा गर्भवती र सुत्केरीहरू उच्च जोखिममा परेको बताउनुभयो । कोभिड–१९ सङ्क्रमितको उपचार, रोकथाम तथा व्यवस्थापनमा समेत महिलाहरू अग्र भागमा खटिएको जोखिमको त्रास पनि उनीहरूलाई बढि रहने भन्दै पोख्रेलले घर, समाज र कार्यस्थलमा महिलाहरूको उच्च मुल्याङ्कन हुनुपर्ने भर्ना राख्नुभयो । सो अवसरमा राष्ट्रिय सहकारी महासङ्घका केन्द्रिय सदस्य हुमा कुमारी जिसी अञ्जुले कोरोनाको बहाना देखाएर देशभरका सहकारी सङ्घ संस्थाहरूमा कार्यरत महिला कर्मचारीहरू रोजगारविहिन बनेको बताउनुभयो । बेतलबी बिदामा राख्ने, सेवा सुविधा कटौती गर्ने गरेकोले पछिल्लो समय महिलाहरूमा मनोवैज्ञानिक रूपमा समेत प्रभावहरू देखिन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागलुङ नगर कार्यपालिका सदस्य नविन विक, अन्तरपाटी महिला सञ्जाल बागलुङका संयोजक कुशुम बुढा, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष, सङ्कल्प नेपालकी गण्डकी प्रदेश संयोजक सावित्री खड्का, दलित अधिकारकर्मी सज्जन कुमार सिंह, पत्रकार प्रकाश बराल र नविन शिशिर विकले बोल्नुभएको थियो । कार्यक्रममा एडभोकेसी फोरमका संयोजक अधिवक्ता राम शर्माले ‘जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अधिवक्ता तथा नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले कार्यपत्र माथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा दुई जना गर्भवती महिलाको कोभिड–१९ महामारीकोले भएको लकडाउनकोबिचमा समयमा उपचार नपाएर निधन भएको, कोरोनाको कारणले गर्दा गत आर्थिक वर्ष बागलुङका १० ओटा स्थानीय तह मध्ये ६ ओटा स्थानीय तहमा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धी कार्यक्रमहरू प्रभावित बनेको, नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गराउने महिलाको संख्यामा कमी आएको, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गराउने महिलाको सङ्ख्यामा समेत कमि आएको इन्सेकको तथ्याङकमा प्रस्तुत गरिएको थियो । जनवरी २०२० देखि हालसम्म बागलुङ जिल्लामा ४५ जना महिला घरेलु हिंसाबाट पीडित बनेको, १० जना महिला र बालबालिका बलात्कार तथा यौन दुव्र्यवहारबाट पीडित भएको इन्सेकले गरेको अभिलेखमा रहेको उल्लेख गरिएको थियो । कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले सञ्चालन गर्नुभएको थियो ।
सिर्जना पन्त