कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सुर्खेत । २०८० वैशाख २७ गते
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी जाजरकोट की ५ वर्षीया बालिकालाई वैशाख २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ । पीडित बालिकालाई जाजरकोटको छेडागाढ नगरपालिका वडा – १२ कार्कीगाउँ बस्ने ३१ वर्षीया बलबहादुर सिहंले ०७८ फागुन ८ गते राति बलात्कार गरेको पीडितको गुनासो छ ।
घरमा अभिभावक कोही नभएको मौका छोपी घरमा बास बस्ने बहानामा राति बालिकालाई ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको पीडित पक्षको बयान छ ।
पीडितका आफन्तले कानुनी प्रकियामा जानका लागि आर्थिक सहयोगको माग गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मानव अधिकार सहायता कक्षको ०७९ चैत ९ गते बसेको बैठकले पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।
प्रभाकुमारी रावत