कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

सुर्खेत । २०८० असार ३० गते

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको भेरीगगा नगरपालिका–११ घर भइ हाल सोही नगरपालिका–१२ छिन्चुमा डेरा गरी बस्दै आउनु भएकी २८ वर्षीया धनकला कामीलाई असार २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ । पीडितकी पति सोही ठाउँका ३१ वर्षका नरेन्द्र विकले पटक पटक शारिरक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ । पीडितलाई पटक पटक ज्यान मार्ने धम्की दिने खान लाउन नदिने, औषधि उपचारमा समेत बेवास्ता गर्ने र आफूसँगै भएकी छोरीको समेत बेवास्ता गर्दै आएको भन्दै पीडितले जिल्ला अदालत सुर्खेतमा जेठ १२ गते सम्बन्ध विच्छेदको जाहेरी दिनु भएको थियो ।

सोही मुद्दाको अहिले विचारधिन अवस्थामा छ । तारिख लिन आउँदा जादा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले नगद सातहजार  रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।

प्रभाकुमारी रावत